बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

564
Shares

चन्द्रागिरि नगरपालिका–६, महादेवस्थानका अमर गिरीले खेतमा जैविक मल प्रयोग गर्न छाडेको ५ वर्ष भयो । तर उहाँले उत्पादन बढाउने भन्दै जैविक मलको सट्टा रासायनिक मलको प्रयोग गर्दा उत्पादन झन् घट्दै गएको छ । रासायनिक मल प्रयोगको मात्राबारे जानकारी नहुँदा असन्तुलित रासायनिक मलको प्रयोगले माटो बिग्रिएर उत्पादन घट्दै गएको हो भन्ने उहाँको अनुमान छ ।

रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउने र माटो बिग्रिने विषयले उहाँलाई चिन्तित पनि बनाएको छ ।
रासायनिक मल प्रयोग गरी तरकारी खेती गर्दै आउनुभएका भक्तपुर, सानोठिमीका रवि डङ्गोलको पनि हरेक वर्ष तरकारी बालीको उत्पादन घट्दै गएको छ । उहाँले भन्नुभयो, ‘धेरै उत्पादन गर्ने भनेर रासायनिक मलको प्रयोग गरेको त उत्पादन झन् घट्दै गएको छ, यो रासायनिक मलको प्रयोगले माटो बिग्रिएर पो हो कि ?’ पछिल्लो सयम किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । माटोमा अम्लीयपन बढ्दै गएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गर्ने गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको छ । कृषिमा भित्र्याइएको हरित क्रान्तिको दुस्प्रभावस्वरूप माटो बिग्रने दर तीव्र गतिले बढ्दो छ । साथै पहिरो तथा भू–क्षय, शहरीकरण, मरुभूमीकरण, माटोको कडापन वा चट्टानीकरण, एकल बाली खेती र माटोमा प्राङ्गारिक पदार्थको कम प्रयोगलगायत कारणले गर्दा पनि माटोको स्वास्थ्य र गुणस्तर खस्कँदै गएको छ । जसले किसानलाई नै बढी घाटा पु¥याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार विभिन्न कारणले यो वर्ष कृषि उत्पादन विशेष गरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब १,२७,३८३ मेट्रिक टन घटी उत्पादन हुने देखिन्छ ।

मन्त्रालको प्रतिवेदनमा भनिएको छ, ‘प्राप्त तथ्यांकअनुसार यो वर्ष बालीतर्फ ३ अर्ब ५४ करोड ६१ लाख ४ हजार, पशुपन्छी, मत्स्य तथा घाँस खेतीतर्फ १६ करोड १५ लाख ४६ हजार, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ १ करोड ६ लाख २५ हजार, सरकारी कार्यालयतर्फ ५८ लाख ६० हजार, जमिन कटानतर्फ ३ करोड ७१ लाख १७ हजार र बीउबिजनतर्फ २ करोड ८१ लाख ४ हजार बराबरको क्षति गरी जम्मा ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपियाँ बराबरको क्षति भएको देखिन्छ ।

तरकारीमा सबैभन्दा बढी रु. १ अर्ब २५ करोड ७१ लाख ३३ हजार ५५० बराबरको क्षति पुगेको देखिन्छ, जुन कुल प्रतिशतको ३५.४५ प्रतिशत हुन आउछ ।’ अधिक मात्रामा उत्पादन बढाउने लोभमा किसानले खेतबारीमा रासायनिक मल र विषादीको आवश्यकताभन्दा बढी प्रयोग गरेकाले माटोको उर्वराशक्ति घट्न थालेको माटो विज्ञहरुले बताउँदै आएका छन् । माटोविज्ञ जीवन सुवेदीका अनुसार गाईवस्तु पाल्न छोडेपछि प्राङ्गारिक मल बनाउने चलन हराउँदै गएको र किसानले बढी उब्जाउ हुने भन्दै जथाभावी रासायनिक मल प्रयोग गर्न थाल्दा माटो बिग्रिँदै गई उत्पादन कम हुन थालेको हो ।

नेपालमा विशेष गरी बलौटे, बलौटे दुमट, दुमट, चिम्ट्याइलो र पाँगो माटो पाइन्छ । बलौटेमा बालुवाको मात्रा धेरै हुन्छ । दोमटमा बालुवा र चिम्ट्याइलो पदार्थ बराबर भएको र चिम्ट्याइलो माटोमा माटोकै मात्रा धेरै हुन्छ । चिम्ट्याइलो माटोमा पानी धारण गर्ने क्षमता बढी हुन्छ । यस्तो माटोमा धानलगायत पानी धेरै चाहिने बाली लगाउन सकिन्छ । बलौटे माटोमा बालुवाको मात्रा लगभग ७० प्रतिशत वा त्योभन्दा बढी हुन्छ । यस्तो माटो खुकुलो हुने भएकाले विशेष गरी आलु, मुला, सलगमसँगै खरबुजा, लौका, फर्सीजस्ता जरेबाली लगाउनु राम्रो हुने विज्ञ बताउँछन् ।

डिसेम्बर ५ मा १२ औँ विश्व माटो दिवस मनाइयो । ‘स्वस्थ माटो, स्वस्थ गाउँशहर’ भन्ने मूल नारासहित नेपालमा पनि यो दिवस मनाइयो । तर, माटो दिवस औपचारिकतामै सीमित भएको छ । दिवसको लागि दिवस मात्रै भएको छ । तीव्र शहरीकरण तथा औद्योगिकीकरणले निम्त्याएको माटो प्रदूषणलगायतका कारणबाट विश्वभर कृषियोग्य जमिन निरन्तर कम हुनुका साथै माटोको संरचना र उर्वराशक्तिमा नकारात्मक असर परेको छ । सरकारसँग दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्ने दरिलो योजना छैन ।

माटो उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकताबद्ध प्रयासका लागि यो दिवस नेपालमा दिवसको लागि दिवस भएको छ ।साथै, स्वस्थ उत्पादन प्रविधिको न्यून अवलम्बन, असन्तुलित मलखादको प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग एवं कृषि रसायनको अनियन्त्रित प्रयोगका कारण माटोको गुणस्तर खस्कँदै गएको कृषि विभागका महानिर्देशन प्रकाशकुमार सञ्जेलले बताउनुभयो । जसले खाद्य सुरक्षा तथा पारिस्थितिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको उहाँको भनाइ छ ।

नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक शुरुवात गरी विश्व माटो दिवस मनाउन शुरु गरियो । तर यो दिवस मनाउन शुरु गरेको आज ११ वर्षसम्म औपचारिकतामै सीमित छ । खाद्य तथा कृषि संगठनको सिफारिसमा संयुक्त राष्ट्र संघको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउने कार्यक्रमको शुरुवात भएको हो । यस वर्षको विश्व माटो दिवस राष्ट्रिय स्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपालको समन्वयमा विभिन्न कार्यक्रम हुँदै छ ।

विभागका महानिर्देशक सञ्जेलले माटो दिवसको अवसरमा केन्द्रीय कृषि प्रयोगशालाको समन्वयमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा विद्यार्थी र किसानहरुलाई माटो परीक्षणको लागि माटोको नमुना संकलन गर्ने तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । साथै, विभागले स्वानमा माटो परीक्षण शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

डिजिटल माटो नक्सा (डीएसएम) को तथ्यांकअनुसार जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, करिब २९ प्रतिशत माटो तटस्थ र करिब १७ प्रतिशत माटो आरीय प्रकृतिको पाइएको छ । पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ । गतवर्ष करिब ५३ प्रतिशत माटो अम्लीय, करिब ३३ प्रतिशत माटो तटस्थ र करिब १४ प्रतिशत माटो आरीय प्रकृतिको पाइएको थियो । नेपालका अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाइएको छ । विशेष गरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङरिक पदार्थको मात्रा कम छ ।

गतवर्ष ३६.९ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४६.७ प्रतिशत माटोमा मध्यम र १६.४ प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाइएको थियो । नेपालको माटोमा औसत २.५९ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । गतवर्ष नेपालको माटोमा औसत २.७७ प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको थियो । नेपालमा प्रतिवर्ष माथिल्लो सतहको करिब १.७ मिलिमिटर माटो भूक्षयका कारण ह्रास हुने गरेको छ ।

देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च पाइएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा नाइट्रोजनको मात्रा कम पाइएको छ । फस्फोरसको स्तर करिब ३५ प्रतिशत माटोमा कम, २१ प्रतिशत माटोमा मध्यम र ४४ प्रतिशत माटोमा उच्च पाइएको कृषि विभागले जनाएको छ । पोटासको स्तर करिब २८ प्रतिशत माटोमा कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च रहेको देखिन्छ ।

सूक्ष्म पोषक तत्वका दृष्टिले मोलिब्डेनम, जिंक र बोरोनको मात्रा सामान्यत्तया कम पाइएको छ । बोरोनको मात्रा विशेष गरी पूर्वी नेपालमा न्यून छ । साथै, सल्फर पनि मुख्यरूपमा तराई क्षेत्रको माटोमा कम देखिएको सञ्जेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको माटोको स्वस्थता बिग्रनुका प्रमुख कारण भनेको गोबर वा कम्पोस्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु र रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु हो ।’

विभागका अनुसार बालीचक्रको आधारमा खेती नगरिनु र अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्णरूपमा हटाइनु वा जलाउनु, भू–क्षय निरन्तर नै रहनु, औद्योगिक प्रदूषणको मात्रा बढ्नु र कृषि औजार÷यन्त्रको अधिकतम प्रयोगले माटो कडा बन्दै जानुलगायत माटो बिग्रिँदै जानुको मुख्य कारण हुन् । शहरीकरण बढ्दै जाँदा खुला माटो कङ्क्रिट र सडकले ढाकिँदै छ, जसले माटोको पानी सोस्ने र बिरुवा उमार्ने क्षमता कम भएको छ । ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल र अत्यधिक विषादीको प्रयोग तथा अव्यवस्थित खेती एवं शहरमा अत्यधिक प्लास्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहोरको कारण माटोको गुणस्तरमा ह्रास आइरहेको छ ।

माटो बिग्रिन नदिन समय–समयमा माटो परीक्षण गराउने, परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषिचुन, प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरुको प्रयोग गरी उपयुक्त प्रविधिअनुसार माटो व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै राम्ररी पाकेको गोबर मल, कम्पोस्ट मल, हरियो मल आदिको प्रशस्त प्रयोग गर्नुपर्ने देखिन्छ ।

माटो जाँचको आधारमा युरिया, डीएपी र पोटास मल सन्तुलित मात्रामा हाल्नुपर्छ भनेर प्रसार कार्यकर्ताहरूले कृषकलाई सिकाउनु आवश्यक छ । कृषि वन प्रणाली, पशुपालनसहितको मिश्रित खेती प्रणालीको विस्तार, बाली विविधीकरण, कोसेबालीको खेती विस्तार, छापो बालीको खेती र खाद्यतत्वको दक्षतापूर्ण उपयोग गर्ने बालीको चयन गरिनुपर्छ । त्यसै गरी राष्ट्रिय कृषि नीति २०६१ मा प्राङ्गारिक कृषिलाई बढावा दिई माटो सुधार गरिने नीति छ । यसको व्यावहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्छ । त्यस्तै माटोअनुसार उपयुक्त बाली छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनुपर्ने, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने, भू–क्षय रोक्ने प्रविधि अपनाउनुपर्ने र पानीको निकास गरी खेतबारीमा बाढी पग्न नदिने पनि उत्तिकै जरुरी छ ।