काभ्रेमा विपन्न विद्यार्थीलाई ३ लाखको न्यानो कपडा वितरण


काभ्रे ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका तीनवटा विद्यालयमा अध्ययनरत चार सय जना विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आजाद श्रेष्ठको सहयोगमा करिब तीन लाख रुपियाँ बराबरको न्यानो कपडा खरिद गरी वितरण गरिएको हो ।


भुम्लु गाउँपालिकाअन्तर्गत प्रकाश माध्यमिक विद्यालय भुम्लुटार, दुलालेश्वर माध्यमिक विद्यालय दोलालघाट तथा भुम्लु–८ स्थित बन्देउटारमा रहेको श्री सिंहदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हजुरलाई नमस्ते परोपकारी संस्थाका अध्यक्ष डा. ताराबहादुर कुँवरले बताउनुभयो । जाडो मौसममा अत्यन्तै कठिनाइ भोगिरहेका विद्यार्थीलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

हजुरलाई नमस्ते परोपकारी संस्थाले अनुरोध गरेको र कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बताउनुभयो ।

समाजका पछाडि परेका वर्गका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा असाध्यै गरिब तथा विपन्न परिवारका माझी, पहरी, तामाङ, दलित, दनुवार समुदायका विद्यार्थीलाई प्राथमिकताका साथ न्यानो कपडा उपलब्ध गराइएको थियो । साथै तराई क्षेत्रबाट भुम्लु क्षेत्रमा आएर मजदुरी गर्दै आएका श्रमिकका बालबालिकालाई समेत न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्सका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । उनीहरूले शिक्षा र सामाजिक सेवामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूले जाडोको समयमा विद्यार्थीलाई राहत पुग्ने यस किसिमको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।