एपीएफ फाइनलमा पराजित इस्ट बंगाल च्याम्पियन


काठमाडौं ।

नेपाल एपीएफ क्लब पहिलो पटक भएको साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ ।
शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा एपीएफलाई भारतीय क्लब इस्ट बंगालले ३–० ले हराएको हो । इस्ट बंगाललाई उपाधि दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनामले १ गोल गरे ।विजेताले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे । यसअघि लिग चरणमा भने एपीएफले इस्ट बंगालसँग गोलरहित बराबरी खेलेको थियो ।

योसँगैं नेपालले साफअन्तर्गतको कुनै पनि उपाधि पहिलो पटक जित्ने मौका गुमायो । यसअघि नेपालको राष्ट्रिय पुरुष र महिला टोलीले साफ च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेका छैनन् ।अहिले पहिलो पटक साफ महिला क्लबस्तरीय प्रतियोगिताको आयोजना नेपालले गर्न पाएपनि त्यसको फाइदा नेपाली टोलीले लिन सकेन । नेपाली राष्ट्रिय महिला लिगको च्याम्पियन एपीएफमा प्रायजसो खेलाडीहरू राष्ट्रियस्तरका छन् ।

इस्ट बंगालले २२ औं मिनेटमै अग्रता लिएर एपीएफको मनोबल गिराइदिएको थियो । यो गोल हुनुमा गोलकिपर अन्जना रानामगर र गीता रानाको तालमेल नमिल्नु थियो । इस्ट बंगालकी कप्तान इक्वापुटले गोल गरेकी थिइन् । पेनाल्टी बक्सबाट उनले गरेको प्रहार छेक्न आएकी गीतालाई नै बल लागेर गोल भएको थियो । यो प्रहारलाई अन्जनाले बचाउन कोशिस गरेकी थिइन् । तर, बलले गीतालाई छुँदा उनले बल बचाउन सकिनन् ।

यस्तै, ३५ औं मिनेटमा शिल्कीदेवीले गोल गर्दा नेपाली टोली एपीएफ २–० ले पछि परेको थियो । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी थिइन् । शिल्कीले गरेको हेड बललाई अन्जनाले पन्च गर्न खोज्दा खोज्दै बलसँगैं उनी पनि गोलपोस्टभित्र पुगेकी थिइन् ।

दोस्रो हाफको सुरुमा नै इक्वापुटले टोलीको तेस्रो र उनको दोस्रो गोल गरेकी थिइन् । गोलकिपर अन्जनाले उनको प्रहार राम्ररी नियन्त्रणमा लिन नसक्दा गोल हुन पुगेको थियो । यो गोलले एपीएफ उपाधिबाट विमुख हुने पक्का गरेको थियो । इक्वापुटले यस प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी थिइन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको यस च्याम्पियनसिपमा ५ राष्ट्रका टोलीले सहभागिता जनाएका थिए । जसमा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नसिरन स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड थिए ।