एमालेको नेतृत्व चयन प्रक्रिया लम्बियो

मंगलबारको मतदान प्रक्रिया स्थगित, बुधबार बिहानदेखि मात्रै मतदान शुरु हुने


–दिनभर भृकुटीमण्डप क्षेत्रमा नाराबाजी र प्रचार

काठमाडौं ।

नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रिया लम्विएको छ । मंगलबार राती हुने भनिएको मतदान एकाएक स्थगित भएको छ । अब नेतृत्व चयनका लागि मतदान बुधबार विहान मात्रै हुनेछ । एमालेका महासचिव शंकर पोखरेलले मंगलबार रातीदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया केहि प्राविधिक कारणले स्थगित भएको र बुृधबार बिहानदेखि मतदान शुरु हुने जानकारी दिनुभयो ।

शुरुमा निर्वाचन आयोगले मंगलबार बिहान ११ बजेदेखि मतदान सुरु हुने कार्यतालिका सार्वजनिक गरे पनि संस्थापन र इतर दुवै पक्षबाट अन्तिम नामावली समयमा नआएकाले मतदान निर्धारित समयमै सुरु हुन सकेन । नामावली टुंगो लगाउन दुवै पक्षले समय मागेपछि निर्वाचन प्रक्रिया लम्बिएको थियो । त्यसपछि मंगलबार राती नै निर्वाचनको तयारी थालिएपनि मेशिनमा आएको प्राविधिक समस्याले स्थगित हुन पुगेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको इतर समूहबीच छुट्टाछुट्टै प्यानल खडा भएपछि निर्वाचन रोमाञ्चक हुने देखिएको छ । दुवै समूहबाट विभिन्न पदमा उम्मेदवारी घोषणा भएपछि अन्तिम सूची मिलाउन समय लागेको आयोगको भनाइ छ । यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गरिन लागेकाले उम्मेदवारहरूको नाम फाइनल गरी कोडिङ गर्नुपर्ने बाध्यताले पनि प्रक्रिया ढिला भएको थियो ।

मतदानस्थल वरपर बिहानैदेखि दुबै प्यानलका कार्यकर्ता आ–आफ्ना उम्मेदवारको पक्षमा नाराबाजीमा उत्रिएका थिए । कतिपय उम्मेदवारले बाजागाजासहित कार्यकर्तालाई मैदानमा उतारेका थिए भने केहीले आर्थिक अभावका कारण मौखिक रूपमा मत माग्ने अभियान चलाएका थिए । यद्यपि, ठूलो संख्यामा कार्यकर्ता र प्रतिनिधि संयमतापूर्वक मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय देखिन्थे । कार्यकर्ताहरूले आउँदो संसदीय निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका लागि उपयुक्त नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए ।

इतर पक्षले भने संस्थापन पक्षभित्र देखिएको आन्तरिक विग्रहलाई बहाना बनाएर निर्वाचन प्रक्रिया जानाजानी लम्ब्याउने षड्यन्त्र भएको आरोप लगाएको छ । संस्थापन पक्षले त्यसलाई अस्वीकार गर्दै प्राविधिक र व्यवस्थापकीय कारणले मात्र ढिलाइ भएको दाबी गरेको छ । उता, केही मतदाताले भने दुवै पक्षले वितरण गरेको सूचीअनुसार होइन, आफ्नै विवेक प्रयोग गरेर मतदान गर्ने बताउँदै आएका छन् ।

नेतृत्व चयनको प्रक्रियामा देखिएको आक्रामकता पनि महाधिवेशनको अर्को विशेषता बनेको छ । संस्थापन पक्षले इतर समूहका केही वरिष्ठ नेतालाई केन्द्रीय सदस्य पदमा समेत मनोनयन नगरेको भन्दै आलोचना भएको छ । इतर पक्षले भने संस्थापन पक्षबाट पदाधिकारीमा उम्मेदवारी दिएका केही नेतालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएर अघि बढेको छ । एउटै पार्टीका कार्यकर्ता भए पनि गुट–उपगुटमा स्पष्ट विभाजन देखिएकाले यसको असर आगामी निर्वाचनमा पर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

मतदानमा यसपटक ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छ । कुल २ हजार २ सय ६३ प्रतिनिधि निर्वाचन प्रक्रियामा सहभागी हुँदैछन् भने ३ सय १ जना उम्मेदवारका लागि मतदान गर्नुपर्ने भएकाले समय लाग्ने आयोगको अनुमान छ । एक जना मतदाताले मतदान गर्न कम्तीमा १५ मिनेट समय लाग्ने आँकलन गरिएको छ ।

मतदान सम्पन्न भएपछि मतगणनाका लागि ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ । महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान मेसिन लक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको हो । सो कम्पनीका सञ्चालक तथा प्राविधिक लक्ष्मण रिमालका अनुसार विद्युतीय मतदान प्रणाली सुरक्षित, छिटो र पारदर्शी छ । उहाँले मतदान प्रक्रिया, समय व्यवस्थापन, मतगणना र सुरक्षाबारे आवश्यक प्राविधिक तयारी पूरा गरिएको जानकारी दिनुभयो ।

महाधिवेशन स्थल वरपर प्रहरी परिचालन गरिएको छ भने विद्युतीय मेसिनको सुरक्षाका लागि विशेष प्राविधिक टोली खटाइएको छ ।एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको यो प्रक्रिया केवल आन्तरिक प्रतिस्पर्धामात्र नभई पार्टीको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

नेतृत्व चयनपछि पार्टीभित्र देखिएको गुटगत विभाजन कम गर्ने र आगामी राष्ट्रिय राजनीतिमा एकताबद्ध रूपमा अघि बढ्न सक्ने कि नसक्ने भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रित भएको छ ।