जनमतको ४२औँ वार्षिकोत्सव तथा पहिलो चरणको सम्मान सम्पन्न


काठमाडौं। 

नेपालको स्थापित साहित्यिक संस्था जनमत वाङ्मय प्रतिष्ठानले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पहिलो चरणको सम्मान कार्यक्रम शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि, प्रतिष्ठित साहित्यकार, समाजसेवी र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले देशको बदलिँदो युग र साहित्यको भूमिकाबारे विचार व्यक्त गर्दै हालैको जेन्जी आन्दोलनले समाजलाई नयाँ दृष्टिकोण दिएको बताए । उनले भने, “२३ र २४ भदौका घटनाले हामी कुन युगमा छौं भन्ने सोच्ने बेला आएको छ । यो युग परिवर्तन र पुनर्निर्माणको हो । पुरानो सोच र संस्कृतिको ठाउँ नयाँ विचारले लिन थालेको छ ।” उनका अनुसार जेन्जी आन्दोलनले धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको नयाँ रूपरेखा बनाएको छ, जुन आगामी पुस्ताका लागि मार्गदर्शक बन्नेछ ।

राईले जनमतका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक मोहन दुवालको निरन्तर साहित्यिक योगदानको प्रशंसा गर्दै भने, “दुवालले पत्रिकामार्फत असंख्य लेखक, कवि र कलाकारलाई सम्मान गर्नुभएको छ । सयौं पुस्तक प्रकाशन गरेर साहित्यलाई देशको सीमा पार पु¥याउनुभएको छ । यस योगदानको कदरस्वरूप नेपाल प्रज्ञा प्रतिष्ठानले उहाँलाई साहित्यिक पुरस्कारद्वारा सम्मान गरिसकेको छ ।” उनले थपे, “राजनीतिज्ञ र नागरिक केवल पाँच वर्षमा एकपटक जाग्छन्, तर साहित्यप्रेमीहरू निरन्तर जागा रहन्छन् र सुतेकालाई बिउँझाउँछन् ।”

कार्यक्रमका सभापति तथा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले संस्थाका उपलब्धिहरू प्रस्तुत गर्दै जनमतले अहिलेसम्म देशका ६६ जिल्लासँगै विदेशसम्म आफ्नो उपस्थिति पु¥याएको बताए  । उनका अनुसार, “४२ वर्षको यात्रामा जनमतले ३६८ अंक प्रकाशित गरेको छ, १६५ वटा पुस्तक बजारमा ल्याएको छ र २६५ जना स्रष्टा तथा योगदानकर्तालाई सम्मान गरेको छ ।” उनले सम्मानका विधा बढेसँगै यस वर्षदेखि हरेक मंसिर र चैतमा नियमित रूपमा दुई चरणमा सम्मान कार्यक्रम आयोजना गरिने योजना रहेको जानकारी दिए ।

दुवालले थपे, “हामी विना भेदभाव कलमका सिपालुहरूलाई सम्मान गर्दै आएका छौं । प्रजातन्त्रवादीदेखि प्रगतिशील सबैलाई समेट्ने हाम्रो नीति भएकै कारण यस सम्मानको प्रतिष्ठा वर्षेनि बढ्दै गएको छ ।” उनले आगामी दिनमा “लुकेका प्रतिभाको खोजी, नयाँ पुरस्कार विधा सृजना” र जनमत पुस्तकालय स्थापनाको तयारी भइरहेको समेत बताए ।

कार्यक्रमकी विशेष अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सम्मानित स्रष्टाहरूलाई बधाई दिदै साहित्यको जगेर्ना समाजको साझा दायित्व भएको बताइन् । उनले भनिन, “म यहाँ राजनीतिक भाषणका लागि होइन, साहित्यप्रति अपनत्वका कारण आएकी हुँ ।” सभामा उनले साहित्यकार स्व. पारिजातको सम्झनामा आफैंले रचना गरी गाएको गीत पनि प्रस्तुत गरिन् ।

सोही अवसरमा नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दरले समसामयिक युगबारे प्रश्न उठाउँदै भने, “हामीले धेरै कालखण्ड पार गरेका छौं । अहिले हामी बाँची रहेको कालखण्ड कुन युग हो, त्यसको उत्तर खोज्ने बेला आएको छ ।”

कार्यक्रममा २०८१ सालको पहिलो चरणमा विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा दीपा जनमत सम्मान निर्मोही व्यास,

गशेण खिलकुमारी दुवाल जनमत सम्मान, श्याम तमोट, जनमत महेन्द्रलाल कलाकार सम्मान, ज्ञानेन्द्र विवश,भारती जनमत साहित्यिक पत्रकारिता सम्मान, बाजुराम पौडेल,केवलपुरे जनमत सम्मान खेमराज निरौला,कमला सैंजु जनमत सम्मान मोतीशोभा श्रेष्ठलाई प्रदान गरिएको थियो । त्यसैगरी  जनमत केदार सुदर्शना बालसाहित्य सम्मान ज्योति अधिकारी र जनमत राजभाई सहयात्री सम्मान कृष्ण प्रसाद आचार्यलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य तथा मानवअधिकारकर्मी राजु सरकारले गरेका थिए । साहित्यिक स्वागत मन्तव्य सृजना दुवालले प्रस्तुत गरिन भने, अतिथिहरूको सम्मान जनमतकी सम्पादक भारती श्रेष्ठले गरिन् ।

त्यस्तै, प्रतिष्ठानकी सदस्य भगवती तिमल्सिनाले सम्मानीय व्यक्तिहरूका प्रशंसा पत्र वाचन गरिन् ।

उक्त समारोहले जनमतको चारदशक लामो साहित्यिक यात्राको निरन्तरता मात्र होइन, नेपाली साहित्यिक संसारमा यसको अविचल योगदानको प्रमाणीकरण पनि गरेको छ ।