–निर्वाचन केही समय पर सर्न सक्ने कुरा आइरहेको छ
–क्रियाशील विवादका कारण महाधिवेशन पनि केही दिन सर्न सक्छ
काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको आगामी १५औं महाधिवेशनमा आफूले पहिलो चरणमा नै ५१ प्रतिशत मत ल्याएर सभापतिमा जित्ने दाबी गर्नुभएको छ ।
इमेज टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हटसिट’मा अन्तर्वार्ता दिँदै कांग्रेस नेता कोइरालाले महाधिवेशनको क्रममा कुनै पनि पावर सेयरिङ नहुने र आफूले सभापतिमा सहज जित हासिल गर्ने दाबी गर्नुभयो ।
नेता कोइरालाले महामन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसार क्रियाशील सदस्यसम्बन्धी समस्या समयमा नै सम्पन्न गर्न नसकेको आरोप लगाउनुभयो । महामन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसारको काम समयमा नै सम्पन्न गर्न नसक्दा त्यसको असर महाधिवेशनमा पर्ने र २६ पुसमा घोषित महाधिवेशन केही दिन पछि सर्न सक्ने उहाँले बताउनुभयो । महाधिवेशन पछि सर्दा समस्या होला नि भन्ने प्रश्नमा उहाँले केही दिन पर सर्दैमा आकाश नखस्ने र कुनै समस्या नपर्ने बताउनुभयो ।
‘सरकारले २१ फागुनमा घोषणा गरेको निर्वाचनको समय त केही पर सार्ने कुरा भइरहेको छ भने कांग्रेसको महाधिवेशन केही पर सर्दैमा त्यसले खासै समस्या पर्दैन । हाम्रो महाधिवेशन केही दिन पर सर्न सक्छ’ –नेता कोइरालाले भन्नुभयो । कोइरालाले महाधिवेशन निर्वाचन अघि नै हुनेमा सबै जना ढुक्क हुनुपर्ने बताउनुभयो ।
कांग्रेस महामन्त्री गगन थापाले पनि सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको विषयमा उहाँले भन्नुभयो– ‘महाधिवेशनमा सभापतिको उम्मेदवार ४–५ जना हुनुमा के ठूलो कुरा भयो र ? १४औं महाधिवेशनमा पनि त ४–५ जना थियौं ।’ जति जना भए पनि सभापतिमा आफूले जित्ने कुरामा विश्वस्त रहेको उहाँले बताउनुभयो । कांग्रेसका हालका सभापति देउवा पक्षको मत पनि पाउन सक्नुहोला त ? भन्ने प्रश्नमा नेता कोइरालाले उहाँहरूको भोट पनि आफूलाई आउने भएकाले नै आफू जित्नेमा ढुक्क रहेको दाबी गर्नुभयो । ‘सभापति र प्रधानमन्त्री अर्कै हुने कुरा हाइपोथेटिकल कुरा हो । त्यस्तो कुनै सेयरिङ हुँदैन, यस्ता छलफल महाधिवेशनपछि गर्ने हो अहिले गर्नुको कुनै अर्थ छैन’ –कोइरालाले भन्नुभयो ।
नेता कोइरालाले महाधिवेशनको मिति तोक्न लामो समयको रस्साकस्सी देखिएको र बैठकमा दुईवटा क्यालेन्डर ल्याउनु नै गलत भएको बताउनुभयो । ‘एउटै क्यालेन्डर बनाएर छलफल गरेको भए त्यति धेरै लफडा नै हुँदैनथ्यो, दुइवटा क्यालेन्डर ल्याइनु नै गलत थियो त्यसैका कारण समस्या भयो’ –कोइरालाले भन्नुभयो । दुइवटा क्यालेन्डर ल्याएर नेपाली कांग्रेसको इतिहासमा नै गलत परम्पराको अभ्यास गरिएको भन्दै कोइरालाले त्यस्तो कार्य गलत भएको बताउनुभयो ।
क्रियाशीलसम्बन्धी समस्या समाधान हुन केही समय लाग्ने उहाँले बताउनुभयो । ‘महाधिवेशन क्रियाशीलताको जिम्मेवारी महामन्त्रीहरूको हो । उहाँहरूले गर्नुपर्ने काम गर्नुप¥यो नि । काम नगर्ने अनि धेरै कुरा गरेर हुँदैन’ –उहाँले भन्नुभयो ।
कतिपय विश्लेषकहरूले महाधिवेशनको विवाद टरेको होइन सरेको हो भनेका छन् नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘विभिन्न समस्या समाधान गरेर महाधिवेशन हुन्छ । समय केही दिन सर्न सक्छ तर निर्वाचन अघि नै महाधिवेशन हुन्छ ।’











प्रतिक्रिया