–सरकारी कार्यदलको कार्यादेश अनुसार मियानले पूर्व महानिर्देशक र विज्ञहरूलाई राखेर बुँदागत धारणा तयार गर्दै
काठमाडौँ।
सरकारले औषधि व्यवस्था विभाग (डिडिए)को समग्र संरचनागत सुधारका लागि गठन गरेको उच्च-स्तरीय कार्यदललाई प्रभावकारी सुझाव दिन नेपाल औषधि आयातकर्ता संघ (मियान) ले एक महत्त्वपूर्ण परामर्श बैठक आयोजना गरेको छ। स्वास्थ्य मन्त्रालयद्वारा गठित कार्यदलको कार्यादेशलाई सम्बोधन गर्ने उद्देश्यले मियानले विभागका पूर्व प्रमुख तथा प्रतिष्ठित औषधि विज्ञहरूको उपस्थितिमा छलफल गरी बुँदागत धारणा तयार गर्ने तयारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत मंसिर २ गते मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकालको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकी थिइन्। उक्त कार्यदललाई औषधि व्यवस्था विभाग र सो अन्तर्गतका निकायहरूको कामकारबाहीलाई चुस्त, व्यवस्थित र पारदर्शी बनाउनका लागि एक महिनाभित्र संरचनागत सुधारको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। कार्यदलले औपचारिक रूपमा सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग सुझाव मागेको थियो।
सोही अनुरूप, मियानले सोमबार एक छलफल कार्यक्रम आयोजना गर्यो। मियानका अध्यक्ष पवन आचार्यले विषय प्रवेश गराउँदै भने, “हामीले दिने सुझाव हलुका नहोस्, अर्थपूर्ण होस् भन्ने हेतुले विज्ञहरूसँग परामर्श लिएका हौँ।” उनले विज्ञहरूलाई साक्षी राखेर आफ्ना धारणा सेयर गर्दा सुझाव बलियो बन्ने र आफूहरूलाई पनि थप जानकार हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मियानले आयोजना गरेको यो परामर्श बैठकको महत्त्व यसमा आमन्त्रित विज्ञहरूको सूचीबाट स्पष्ट हुन्छ। बैठकमा औषधी व्यवस्था विभागका पूर्व महानिर्देशकद्वय राधारमणप्रसाद साह र गजेन्द्रबहादुर भुजु, राष्ट्रिय औषधी प्रयोगशालाकी पूर्व निर्देशक भावा राजभण्डारी, विभागका पूर्व बरिष्ठ फार्मासिष्ट शिवप्रसाद भट्टराई, औषधीविज्ञ राजनबहादुर रावत, तथा नेपाल औषधी व्यवसायी महासंघका महासचिव श्रीधर खनाललगायतको उपस्थिति थियो।
यी प्रतिष्ठित विज्ञहरूले औषधि नियमन, आयात प्रक्रिया, गुणस्तर मापन र प्रशासनिक चुस्तताका विषयमा गहिरो अन्तरदृष्टि प्रदान गरेको मियानले जनाएको छ। अध्यक्ष आचार्यका अनुसार, बैठकमा धेरै राम्रा कुराहरू आएका छन् र ती सबैलाई समेटेर कार्यदलसमक्ष बलियो धारणा पठाइनेछ।
सरकारद्वारा गठित उच्च-स्तरीय कार्यदलले डिडिएको प्रभावकारिता बढाउन केन्द्रित रही प्रतिवेदन तयार पार्नुपर्नेछ। मन्त्रालयले कार्यदललाई पाँच बुँदे कार्यादेश पठाएको र सोही बुँदामा टेकेर मियानले पनि आफ्नो सुझाव तयार पार्न लागेको अध्यक्ष आचार्यले बताए।
कार्यदलमा संयोजक डा. ढकालसहित सदस्यहरूमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा सङ्घरत्न बज्राचार्य, राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराई, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे र औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेल रहेका छन्। मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
कार्यदललाई दिइएको एक महिनाको समयसीमा भित्र डिडिएमा आवश्यक संरचनागत सुधारको मार्गचित्र तयार पार्नुपर्नेछ। यसरी, नेपालको औषधी क्षेत्रको नियमनकारी निकायको सुधारका लागि निजी क्षेत्रको सबैभन्दा ठूलो आयातकर्ता संघ (मियान) ले विज्ञहरूको परामर्श लिएर सुझाव पठाउने पहल गर्नुलाई सरकारी कार्यदललाई सहयोग पुग्ने र औषधि आयात प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया