काठमाडौं।
काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएका ‘गौरव योजना र ‘स्वर्णिम योजनामध्ये अधिकांश कार्यान्वयन हुन बाँकी छन् । मेयर बालेन्द्र साहको एकलौटी र केही विभागीय प्रमुखको सल्लाहमा तयार भएका दुई योजना कार्यान्वयनमा फितलो देखिएको छ ।
चालू आर्थिक वर्षमा ती योजना कार्यान्वयन गर्न कठिन भएपछि कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विभागअन्तर्गत प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको थियो । मेयरको सचिवालयको रुचीमा तयार भएका अधिकांश योजना कल्पनामा सीमित छन् भने कतिपय कार्यान्वयनको चरणमा छन् । सहरी योजना आयोगमार्फत कार्यान्वयन हुनुपर्ने कतिपय योजना आयोगका उपाध्यक्ष सुमनसिंह राजभण्डारी र मेयर साहका कारण कार्यान्वयन हुन सकेका छैनन् ।
मेयर साहले उपाध्यक्ष राजभण्डारीलाई विना जानकारी हटाएपछि कार्यक्रम कार्यान्वयन गर्न कठिन भएको थियो । अदालतले पद बहाली गराएपछि उपाध्यक्ष राजभण्डारी काममा फर्कनुभएको थियो । तैपनि गौरव र स्वर्णिम योजना द्रुत गतिमा अघि बढ्न सकेका छैनन् । महानगर गौरवका योजना ११ वटा र स्वर्णिम योजना ३० वटा छन् । यी योजनाहरू पहिलोपटक १३औँ नगर सभाको अधिवेशनमा विनियोजन वियेधकमार्फत पेस भएका थिए ।
गौरव योजनाअन्तर्गत ‘उज्यालो सहर, मेरो महानगर’ कार्यान्वयनमा आएको छ । ‘धुलोरहित सडक’ र ‘ढलरहित खोलानाला’ गरी ३ वटा योजना सार्वजनिक निर्माण विभागअन्तर्गतका छन् । तीमध्ये ढलरहित खोलानाला कल्पनामा मात्र सीमित भएजस्तो देखिन्छ ।
त्यस्तै, ‘महानगरले देख्छ’ र ‘सुशासनका लागि अनलाइन सेवा’ गरी दुई योजना सूचना प्रविधि विभागअन्तर्गत छन् । यी दुई योजना कार्यान्वयन चरणमा छन् । सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्ने भनिएको दुई योजनामा ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’ र ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’योजना कार्यान्वयनको चरणमा छ ।
सामाजिक विकास विभागअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । हरियाली प्रवद्र्धन योजनाअन्तर्गतका ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यान्वयन चरणमा छ । स्वास्थ्य विभागको ‘सुलभ स्वास्थ्यसेवा, नागरिकलाई टेवा’ र शिक्षा विभागको जिम्मेवारीभित्र पर्ने ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ केही कार्यान्वयनको चरणमा छन् ।
३० वटा स्वर्णिम योजनामध्ये ‘सम्पदा मर्मत तथा संरक्षण, ‘सांस्कृतिक महानगर, ‘पर्यटकीय सहर र ‘ढुङ्गेधारा हिटी र पोखरी गरी ४ वटा कार्यक्रम सम्पदा तथा पर्यटन विभागअन्तर्गत कार्यान्वयनमा छन् । उक्त विभागअन्तर्गतका योजना कार्यान्वयनका क्रममा रहेका छन् । सामाजिक विकास विभागअन्तर्गत ‘साथी महानगर, ‘सबैको योजना, सबैको विकास, ‘स्वरोजगार नगरबासी र ‘क्लोथ बैंक’ योजना नारामा मात्र सीमित छन् । स्वर्णिम योजनाका अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् ।
सार्वजनिक निर्माण विभागअन्तर्गत ‘खेलकुद पूर्वधार परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’ र ‘सुन्दर महानगर’ गरी ३ वटा कार्यक्रम छन् । विभागले हालसम्म खेलकुद पूर्वाधारबाहेक अन्य योजना कार्यान्वयन गर्न सकेको छैन । मेयर साहको सुरुको कार्यकालमा अघि बढाइएको पूर्वाधार एम्बुलेन्स कार्यक्रम तीन वर्ष पुग्नलाग्दा पनि सुरु हुन सकेको छैन ।
‘योजनामा स्वर्णिम उल्लेख छ तर कार्यान्वयन हुन कठिन भइरहेको छ’ –कामपा स्रोतले भन्यो । ‘नदी सरसफाइ, ‘पोखरी सरसफाइ’, ‘जैविक मल परियोजना’गरी ३ वटा कार्यक्रम वातावरण व्यवस्थापन विभागअन्तर्गत छन् । ती कुनै पनि कार्यान्वयन भएका छैनन् । स्वास्थ्य विभागअन्तर्गत ‘सुलभ फार्मेसी’ ‘स्वच्छ भान्छा’ कार्यक्रम र ‘आरोग्य जीवन’ गरी ३ वटा कार्यक्रममध्ये सुलभ फार्मेसीको काम सुरुवाती चरणमा छ भने बाँकी कार्यान्वयन हुन सकेका छैनन् ।
‘यातायात तथा सडक सुरक्षा’ र ‘स्मार्ट टोल’ गरी २ वटा कार्यक्रम सहरी व्यवस्थापन विभागले कार्यान्वयन गर्छ । ती दुवै कार्यान्वयनको सुरुवाती चरणमा छन् । ‘एकल सेवा केन्द्र’ र ‘श्रम बैंक’ गरी २ वटा कार्यक्रम प्रक्रियागत रूपमा अघि बढेको छ । ‘सुन्दर विद्यालय’ र ‘रचनात्मक विद्यालय गरी २ वटा कार्यक्रम शिक्षा विभागका छन् दुवै परियोजना कार्यान्वयन भइरहेको छ ।
‘पिउने पानी’ तथा ‘सार्वजनिक शौचालय’ सार्वजनिक निजी साझेदारी एकाइले कार्यावयन गर्ने उल्लेख छ । दुई योजनामध्ये सार्वजनिक शौचालय योजना अघि बढेको छ भने पिउनेपानी कार्यक्रम कार्यान्वयन भएको छैन ।
‘डुबान समाधान’ विपद् व्यवस्थापन विभागले, ‘अनुसन्धान र अन्वेषण’ सहरी योजना आयोगले, ‘न्याय चौतारी’ कानुन तथा मानवअधिकार विभागले, ‘ई रेन्टल’ राजस्व विभागले, ‘एग्रो पुलिङ परियोजना’ कृषि तथा पशुपन्छी विभागले र ‘मेट्रो मार्ट’ सहकारी विभागले कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ । तीमध्ये ई रेन्टल, एग्रो पुलिङ, मेट्रो मार्टलगायत कार्यक्रम कार्यान्वयन भएका छैनन् ।











प्रतिक्रिया