जोए रुटको अस्ट्रेलियामा पहिलो सतकरुटको ४० औं टेस्टशतक


लण्डन ।

इंग्ल्याण्डका जोए रुटले अस्ट्रेलियामा करियरको पहिलो सतक प्रहार गरेका छन् ।
ब्रिसबेनमा बिहीबारदेखि सुरु भएको दोस्रो टेस्टमा रुटको शतकको सहयोगमा इंग्ल्यान्डले ९ विकेट गुमाएर ३ सय २५ रन बनाएको छ । दिन–रातको टेस्टमा उनी १ सय ३५ रनमा नटआउट रहेका छन् । यो अस्टे«लियामा पहिलो टेस्ट शतक उनको करिअरको ४० औं शतकसमेत हो ।

रुट टेस्ट क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने सूचीमा भारतका सचिन तेन्दुलकर (५१ शतक), दक्षिण अफ्रिकाका ज्याक कलिस (४५ शतक), अस्टे«लियाका रिकी पोन्टिङ (४१ शतक) भन्दा पछि छन् ।पिंक बलका विज्ञ बलर मिचेल स्टार्कले ७१ रन खर्चेर ६ विकेट लिँदा इंग्ल्यान्डका चार ब्याटरले रन पनि बनाउन सकेनन् । रुट चम्कनअघि ओपनर जाक क्राउलीले ७६ रनको इनिङ खेले । तर अर्का ओपनर बेन डक्केट रन नै नबनाई स्टार्कका शिकार बने । यसपछि आएका ओली पोप पनि शून्यमै स्टार्कको बलमा आउट भएका थिए ।

त्यसपछि रुटले क्राउलीलाई साथ दिन आएका थिए । यो जोडीले तेस्रो विकेटका लागि १ सय १८ रनको साझेदारी गरेर स्कोर १२३ सम्म पु¥यायो । क्राउलीलाई माइकल नेसेरले आउट गरेर यो साझेदारीको अन्त्य गरेका थिए ।यसपछि ६ विकेट पतन भएकोमा स्टार्कले चार विकेट आफ्नो नाममा गरेका थिए । जसमा ह्यारी ब्रुक (३१), विल ज्याक्स (१९), गस एटकिन्सन (४) र ब्राइडन कार्स (०) लाई स्टार्कले आउट गरेका थिए । कप्तान बेन स्टोक्स भने १९ रन बनाएर रनआउट भएका थिए ।

स्टार्कको अहिले टेस्टमा ४ सय १८ विकेट भएको छ । यसको साथै उनले भारतीय बलर हरभजन सिंह (४१७) र पाकिस्तानी बलर वसिम अकरम (४१४) लाई पछि पारेका छन् । अब, उनी दक्षिण अफ्रिकाका शाउन पोल्लोक (४२१) लाई पछि पार्न नजिक छन् ।

यसअघिको पर्थमा सम्पन्न पहिलो टेस्टमा अस्ट्रेलियाले दुई दिनमै ८ विकेटको जित हासिल गरेको थियो । यसरी छिटै हारेपछि इंग्ल्यान्ड टोलीको ब्रिटेनमा निकै आलोचना भएको थियो ।