काठमाडौँ।
साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनमा काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो।
लिगका सबै खेल सकिएको काठमान्डु १० अंकसहित तालिकाको पहिलो स्थानमा पुगेको छ। यससँगै उनीहरू प्लेअफमा स्थान बनाउने दोस्रो टोली बनेका छन्। सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ सुनिश्चित गरिसकेको थियो।
१६५ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमै समेटियो, जसपछि यसको प्लेअफ सम्भावना कमजोर बनेको छ। पोखराका लागि रिशि धवनले ३१ बलमा ५४ रनको अर्धशतक प्रहार गरे भने धनञ्जय लक्ष्मणले ३० र कप्तान कुशल भुर्तेलले २२ रन जोड्न सके।
काठमान्डुका बलर साहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ६४ रन र भिम सार्कीले २३ बलमा ५५ रनको आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोर दिलाए।
पोखराका धनञ्जय लक्ष्मणले ४ विकेट लिए भने कुशल भुर्तेल, किरण ठगुन्ना र विपिन कार्कीले १–१ विकेट झारे।
आज अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच अर्को महत्वपूर्ण खेल हुँदैछ।











प्रतिक्रिया