डिप्रेसनले शून्यमा हराएको उत्कर्ष: एन्दरसनको मौन संघर्षले दिएको सामाजिक सन्देश

1.41k
Shares

सन् २०११, आइभोरी कोस्टका फुटबलर बब्ले एन्दरसन आफ्नो करियरको उत्कर्षमा थिए । लिगको उत्कृष्ट खेलाडीको प्रतिष्ठित उपाधि हात पारेपछि उनको नाम फुटबल जगत्को नयाँ नक्षत्रका रूपमा चम्कियो । उनको जादुमय खेल कौशलले ठूला क्लबहरूको ध्यान खिच्यो । एकै वर्षभित्र उनी मोरक्कोको नामी क्लब वायडाड एफसी पुगे । तर, उनको वास्तविक सपना तब पूरा भयो, जब स्पेनको ला लिगा क्लब मल्लागाले उनलाई अनुबन्ध ग¥यो । उनका लागि विश्वको सबैभन्दा ठूलो मञ्चमा आफ्नो क्षमता देखाउने प्रवेशद्वार थियो त्यो ।

सबै राम्रै चल्दै थियो । तर, एकाएक एन्दरसनको यात्रा एक किंवदन्ती झैँ बन्यो । सानो गाउँबाट आएको एक युवा, जसले छोटो समयमै विश्वको सर्वाधिक प्रतिस्पर्धी लिगमा स्थान बनायो । तर, जति तीव्रताका साथ उनले सफलताको शिखर चढेका थिए, त्यति नै भयावह गतिमा उनको पतनको यात्रा सुरु भयो । यो पतन न त चोटले ल्याएको थियो, न त खराब फर्मले । कारण थियो डिप्रेशन ।

टुटेको सपना र अदृश्य घाउ

एन्दरसनको कथा एउटा पूरा हुन नसकेको सपना हो । स्पेन पुगेपछि उनका नजिकका साथीहरूले उनको मानसिक स्वास्थ्यमा सूक्ष्म गडबडीहरू महसुस गर्न थाले । सुरुमा सामान्य लागेको त्यो अवस्थाले उनलाई विस्तारै फुटबल मैदानबाटै पन्छाउँदै लग्यो । नाम र दाम दिएको व्यावसायिक फुटबलको अथाह दबाब उनका लागि असह्य बन्यो । सबैभन्दा दुःखद कुरा त के थियो भने उनको डिप्रेशनको जरा के हो भनेर अझै रहस्यमय रह्यो । के त्यो शीर्षस्तरमा खेल्ने तीव्र दवाब थियो ? के त्यो परिवार र आफ्नो परिचित वातावरणबाट टाढा एक अपरिचित देशमा महसुस भएको गहिरो एक्लोपन थियो ? कारण ठम्याउन कसैले सकेनन् ।

गुमनाम पतनको त्रासदी

सन् २०१५ सम्म मल्लागाले अनुबन्ध गरेको चार वर्षभित्रै एक समयको उदाउँदो स्टार सार्वजनिक दृष्टिबाट हराइसकेको थियो । एन्दरसन टोलीबाट विलिन भए । केही समाचार माध्यमहरूले उनी सडकमा एक अन्जान व्यक्तिसरह भौंतारिएको बताए । मैदानमा चम्कने खेलाडी दयनीय अवस्थामा पुगेका थिए । प्रचुर सम्भावनाले भरिएको उनको जीवन अब मानसिक स्वास्थ्यको मौन संघर्षले परिभाषित भइरहेको थियो । प्रतिभाशाली युवा, डिप्रेशनको शिकार भइसकेको थियो ।

प्रसिद्धिका लागि चुकाउनुपर्ने मूल्य

एन्दरसनको कथा एक व्यक्तिगत त्रासदी मात्र होइन, यो खेलकुद जगत्का लागि एक कठोर चेतावनी पनि हो । हाम्रो समाजमा शारीरिक चोटपटकलाई गम्भीरताका साथ लिइन्छ, तर मानसिक स्वास्थ्यलाई सधैँ नजरअन्दाज गरिन्छ । एथ्लीटलाई शारीरिक मेसिनका रूपमा हेरिने खेलकुदको संसारमा, खेलाडीको मन र भावनाको स्वास्थ्यलाई बलियो बनाउन कति लगानी भइरहेको छ त ? एन्दरसनको पतनले एउटा असहज सत्य उजागर गर्छ, डिप्रेशन र अन्य मानसिक स्वास्थ्य समस्याहरूले सफलता, प्रसिद्धि वा प्रतिभा हेर्दैनन् । उच्च प्रदर्शनको निरन्तर दवाब, कडा अभ्यास तालिका र सार्वजनिक आलोचनाको बोझ, यी सबैले उनको पतनमा योगदान पु¥याएका हुन सक्छन् । तर, ती संकेतहरूलाई समयमा चिन्न कोही तयार भएन ।

मौन संघर्ष

एन्दरसनको मौनताले यस घटनालाई अझै हृदयविदारक बनाउँछ । आफ्नो पतनको कारण व्याख्या गर्न नसक्ने गरी उनी रोगले घेरिइसकेका छन् । एन्दरसनलाई के भयो ? यसको उत्तर एउटा बन्द मस्तिष्कमा कैद छ । उनको गुमनामी धेरै मानिसहरूले भोगिरहेको मौन संघर्षको गम्भीर प्रतीक हो । एन्दरसनको करियरले छोडेको पाठ स्पष्ट छ, मानसिक रोगलाई शारीरिक रोग जत्तिकै गम्भीरतापूर्वक लिइनुपर्छ । खेलकुदको संसारमा मानसिक स्वास्थ्यको विषयमा सचेतना र सहयोगको आवश्यकता अपरिहार्य छ । अन्यथा, हामीले अनगिन्ती प्रतिभाहरूलाई यस्तै गुमनाम संघर्षमा हराउँदै गएको देख्नेछौं ।