काठमाडौं ।
नेपाल औषधि व्यवसायी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग र संघबीच भएको त्रिपक्षीय वार्तापछिको सहमतिले पूर्व निर्धारित सम्पूर्ण आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ। संघले पछिल्ला दिनमा राख्दै आएको मागमा सम्बन्धित सरकारी निकायले देखाएको ‘उच्चतम सकारात्मकता’लाई आधार बनाउँदै आन्दोलन स्थगित गरिएको जानकारी दिएको हो।
संघर्ष समितिका सदस्य–सचिव शुभमान श्रेष्ठका अनुसार सोमबार सम्पन्न वार्तामा दुवै पक्षबीच व्यावहारिक समाधानका बाटो खोल्ने तीन बुँदे सम्झौता भएको छ। “नेपाल औषधि व्यवसायी संघको नेतृत्वमा भएको छलफलहरू सकारात्मक बनेपछि हाम्रो मुख्य माग अनुसार आवश्यक काम अघि बढाइने सहमति भएको छ,” श्रेष्ठले बताए, “त्यसैले भोलिदेखि लागू हुनेगरी हामीले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं।”
पछिल्लो समय औषधि व्यवसायी संघले औषधि वितरण, व्यवसाय सञ्चालन, नियमन प्रक्रिया र बजार अनुगमनका विषयमा उठाएका विभिन्न मागहरू सरकारसँग पटक–पटक राख्दै आएको थियो। संघले विशेषगरी व्यवसायमैत्री नीतिगत स्पष्टता, अनुगमनका तरिकामा पारदर्शिता, औषधि दर्ता तथा वितरण प्रक्रियामा देखिएका जटिलता हटाउने लगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको थियो। माग सम्बोधन नभएको भन्दै संघले केही दिनदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।
यसबीच मन्त्रालय र विभागका पदाधिकारीहरूले संघका प्रतिनिधिहरूसँग निरन्तर छलफल गर्दै समस्या समाधानतर्फ सकारात्मक संकेत दिँदै आएको संघका सदस्यहरू बताउँछन्। त्रिपक्षीय वार्तामा संघले पेश गरेका बुँदाहरू अध्ययन गरी तत्काल लागू गर्न सकिने र नीतिगत रूपमा समय लाग्ने पक्षमा छुट्टाछुट्टै समझदारी बनेपछि सहमति औपचारिक रूपमै टुंगिएको हो।
श्रेष्ठले भोलि (मंगलबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् सम्झौताका बुँदाहरू, कार्यान्वयनको समयरेखा र आगामी कदमबारे विस्तृत रूपमा सार्वजनिक गरिने जानकारी दिए। उनले सरकारले वार्ता प्रक्रियामा देखाएको सहयोग र तयारलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै अब दुवै पक्ष मिलेर औषधि क्षेत्रको सुधारतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।
आन्दोलन फिर्तासँगै औषधि आपूर्तिमा सम्भावित अवरोधका आशंका हटेको र स्वास्थ्य सेवामा पर्ने सम्भावित असर कम भएको सरोकारवालाहरूको भनाइ छ। औषधि क्षेत्रसम्बन्धी नीतिगत सुधार र दीर्घकालीन व्यवस्थापनमा दुवै पक्ष सक्रिय भएर लागेमा यस घटनाले आगामी दिनमा पनि सहकार्यको वातावरण बन्न मद्दत गर्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया