चुनावअघि महाधिवेशन गर्नतिर नलागौं


काठमाडौैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँ निकटका नेताहरुले भेटेर चुनावअघि महाधिवेशन नगर्न आग्रह गरेका छन् ।

बिहीबार सभापति देउवाले आफ्नो अस्थायी निवास महाराजगञ्जमा आफू निकटका नेताहरुलाई बोलाएर छलफल गर्नुभएको थियो । भेटमा नेताहरूले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्न नहुने सुझाव दिएका छन् ।

छलफलपछि कांग्रेस पार्टी प्रवक्तासमेत रहनुभएका नेता डा. प्रकाशशरण महतले निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन गर्न नहुने विषय आफूहरूले सभापति देउवासँग उठाएको बताउनुभयो । उहाँले निर्वाचनअघि महाधिवेशन गरेर गए पार्टीलाई क्षति हुने कुरा सभापति देउवासँग राखेको बताउनुभयो । देउवाले आफू निकटका नेताहरुलाई पार्टीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको महतले बताउनुभयो ।

देउवाको भनाइ उद्धृत गर्दै महतले भन्नुभयो– ‘जे जस्तो भए पनि अहिलेको समस्यालाई समाधान गर्न सहमति गरेर जानुस् भन्नुभयो ।’ नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने बहस छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले पुसभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

त्यसका लागि उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरिसकेका छन् । तर, संस्थापन पक्षका नेताहरू भने चुनावअघि कुनै हालतमा महाधिवेशन गर्न नहुने पक्षमा छन् । विशेष महाधिवेशन पक्षधरले भने विशेष भेला नै गरेर दबाब बढाएका छन् । यही किचलोका कारण कांग्रेसको केन्द्रीय समिति बैठकले एक महिनादेखि महाधिवेशनबारे निर्णय लिन सकेको छैन ।