प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने


–२१ फागुनको निर्वाचनलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने
–निजामतीलाई मुलुकको रूपान्तरणको मियोको रूपमा स्थापित गरिने

काठमाडौं ।

नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्नुभएको छ । पदबहाली गरेलगत्तै आयोजित कार्यक्रममा उहाँले २५ बुँदे प्रतिबद्धतासहितका आफ्ना कार्ययोजना तथा रोडम्याप पेस गर्नुभएको छ । सरकारका सबै सचिवहरू तथा उच्च पदस्थ कर्मचारीहरू संलग्न सो कार्यक्रममा नवनियुक्त मुख्य सचिव अर्यालले पेस गर्नुभएको रोडम्यापमा विभिन्न मन्त्रालय र निकायको प्रशासनिक नेतृत्वको रूपमा रहेका सचिव तथा सम्पूर्ण कर्मचारीले अख्तियार गर्नुपर्ने नीति योजना र कार्यहरूलाई समेत समेट्नुभएको छ ।

नवनियुक्त मुख्य सचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्तरोन्नति र क्षमता विकास गरी यसलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा स्थापित गर्दै विकास निर्माण र सेवा प्रवाहको नियमित अनुगमन मूल्यांकन र प्रतिवेदन तयार गरी नियमित सुधार गर्ने गराउने प्रभावकारी निकायको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी मुख्य सचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगमा रहेका अनुगमन तथा सहजीकरण संयन्त्रलाई थप क्रियाशील बनाउने दृढता व्यक्त गर्दै निजामती सेवालाई व्यावसायिक बनाउने क्रममा राष्ट्रसेवकहरूको क्षमता विकास, नैतिकता प्रवद्र्धन, जवाफदेहिता अभिवृद्धि र नेतृत्व क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

सरुवा प्रणालीलाई स्वचालित र समयबद्ध तथा बढुवालाई पूर्वअनुमानयोग्य बनाउन प्रयत्न गर्ने र निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गराउन आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रधानमन्त्री कार्यालयमा रहेको नतिजा व्यवस्थापन महाशाखालाई प्रभावकारी बनाउँदै विकास आयोजना कार्यान्वयनमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्ने परिपाटीलाई थप चुस्त बनाउने, विकास निर्माण कार्यलाई द्ू्रत र निर्धारित समयमा नै सम्पन्न गर्न सहयोग पु¥याउन यससम्बन्धी छुटै ऐनको मस्यौदा तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो । साथै उहाँले छिमेकी राष्ट्रहरूसहित नेपालसँग दौत्य सम्बन्ध कायम भएका सबै मुलुकसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न जोड दिने प्रतिबद्धता जनाउनुभयो ।

अर्यालले वर्तमान सरकारको सबैभन्दा ठूलो दायित्व र प्राथमिकता आगामी फागुन २१ को निर्वाचनलाई सम्पन्न गराउनु रहेकाले यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षासँग जोडिएका सबै मन्त्रालय र निकायहरूबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष प्रतिबद्ध रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अर्यालले आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्रको विषयमा समयमा नै निर्णय गर्ने, ढिलाइ नगर्ने, पन्छाउने कार्य नगर्न सचिवहरूलाई आग्रह गर्नुभयो ।यसैगरी उहाँले सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरूले अनलाइन सेवाबीच अन्तर आबद्धता कायम गरी सेवावग्राहीलाई पटकपटक सरकारी निकायमा पेस गरेको डकुमेन्ट पुनः अर्को ठाउँमा पेस गर्नुनपर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो ।

मुख्य सचिव अर्यालले आम जनताको नजरमा निजामती सेवा भनेको अल्छी, जुम्स्याहा, जिम्मेवारी लिन नचाहने, काम पन्छाउने, झुलाउने, राष्ट्र र जनताको सेवाभन्दा पनि आफ्नै सेवा, सुविधा र अवसरका लागि मात्रै केन्द्रित हुने गरेको आरोप लाग्ने गरेकाले सो आरोपबाट मुक्त हुनुपर्ने बताउनुभयो ।

मुख्य सचिव अर्यालले जनताका गुनासोका तत्काल सम्बोधन गर्न हेलो सरकारलाई प्रभावकारी बनाइने, प्रशासनिक खर्चमा उच्च मितव्ययिता अपनाइने, सार्वजनिक सेवामा गुणात्मक सुधार गरिने, सबै जना अनुशासन र चेन अफ कमान्डमा बस्नुपर्ने, संघीयताको प्रभावकारी कार्यान्वयलाई केन्द्रविन्दुमा राख्नुपर्ने, जेन–जी पुस्ताको मनोभावनलाई सधैं शिरोपर गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्ता छन् नयाँ मुख्य सचिव अर्यालका प्रतिबद्धता र आग्रह

–वर्तमान चुनौतीपूर्ण अवस्थालाई निःस्वार्थ र निस्पृह भावले सम्हाल्न प्रतिबद्ध हुनेछु ।
–देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरी लक्ष्य हुनेछ ।
–प्रशासनलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुनेछ ।
–हामी सबैजना शासक होइन सेवक र जनताको शोषक र पीडकको रूपमा होइन पोषक र रक्षकको रूपमा उभिनुपर्छ ।
–राज्यका अन्य क्षेत्रमा राम्रो प्रभाव पार्न पनि निजामती सेवा अरूभन्दा अब्बल, अनुशासित, मर्यादित र परिणाममुखी हुन जरुरी छ ।

–राष्ट्र र जनताको सेवाभन्दा पनि आफ्नै सेवा, सुविधा र अवसरको लागि मात्रै केन्द्रित हुने गरेको आरोपबाट मुक्त हुनुपर्छ ।
–कर्मचारी सरुवा र पदस्थापनमा देखिएका अस्वस्थ्य खेल हटाउनै पर्छ ।
–जनताका गुनासोका तत्काल सम्बोधन गर्न हेलो सरकारलाई प्रभावकारी बनाइने छ ।
–प्रशासनिक खर्चमा उच्च मितव्ययिता अपनाइने छ ।
–निजामती कर्मचारीहरू राजनीतिक आस्था र गुटमा किमार्थ पनि विभाजित हुनुहँुदैन ।

–हामी मुहानमा बसेकाहरू सफा, इमानदार र स्वच्छ बनौं ।
–सबै जना अनुशासन र चेन अफ कमान्डमा बस्नैपर्छ ।
–संघीयताको प्रभावकारी कार्यान्वय हामी सबैको केन्द्रविन्दुमा रहनुपर्छ ।
–जेन–जी पुस्ताको मनोभावनलाई सधैं शिरोपर गर्दै अघि बढौं ।

–भ्रष्टाचारमुक्त सुशासनयुक्त शासन व्यवस्था कायम गर्न हामी सबै एक हौं ।
–भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ अवलम्बन गरौ । बिचौलियावादबाट पूर्णतः मुक्त बनौं ।
–राज्यलाई दीर्घकालीन दायित्व सिर्जना हुने गरी अनावश्यक संरचना र दरबन्दी सिर्जना नगरौं ।
–देशलाई ‘ग्रे लिस्ट’बाट मुक्त गराउन सबैजना अग्रसर बनौं ।
–निजामती सेवालाई नयाँ नेपाल निर्माणको कुशल सारथी र संवाहक बनाउन हरपल प्रयासरत रहनेछु ।