प्रयोग विहीन पशुपंक्षी प्रयोगशाला !

2.44k
Shares

दोलखा।

सदरमुकाम चरिकोटमा रहेको पशु सेवा कार्यालयमा प्रयोगशाला र आवश्यक जनशक्ति नहुँदा  ल्याब परीक्षण आवश्यक हुने घर पालुवा जनावर तथा पशु– पंक्षिको प्रभावकारी उपचारमा समस्या देखिएको छ । 

आवश्यक जनशक्ति र भवन समेत नभएपछि पशु सेवा कार्यालयमा भएको प्रयोगशाला प्रयोग विहीन बनेको छ, पशु सेवा कार्यालय दोलखाका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. टेकराज पौडेलले भने– जसको कारण रगत लगायत परीक्षण आवश्यक हुने घर पालुवा जनावर तथा पशु– पंक्षिको प्रभावकारी उपचार गर्न सकिँदैन । 

दोलखाका अधिकारकर्मी अधिवक्ता कृष्ण वस्नेतले पालेको कुकुर बिरामी हुँदा  रगत परीक्षण सम्भव नभएर प्रभावकारी उपचारको अभावमा कुकुरको मृत्यु भएपछि पशु सेवा कार्यालयमा रहेको प्रयोगशाला किन प्रयोग भै रहेको छैन भनेर प्रश्न उठेको थियो । 

कुखुरा पालक कृषक जिस्नु कुमारी उप्रेती पनि पशु सेवा कार्यालय चरिकोटमा प्रयोगशालाको अभाव हुँदा कुखुरा बिरामी भएको अवस्थामा आवश्यक परीक्षण गर्न नसकिने गुनासो गर्छिन् । झन्डै आठ हजार कुखुरा रहेको हिमाली कृषि तथा पशुपन्छी फर्मको सञ्चालक उप्रेती कुखुरा बिरामी भएर ल्याब परीक्षण गर्नुपर्दा काठमाडौँ लान पनि समस्या र चरिकोटमा रहेको पशु सेवा कार्यालयमा पनि सम्भव नहुने भएकोले रोग पत्ता लगाउनै कठिन हुने बत्ताउँछिन् । 
कुखुरा पालक कृषकको लागि उत्पादित अण्डा अन्यत्र लान क्वारेन्टाईनको समेत समस्या रहेको उप्रेतीले गुनासो गरिन् ।

पशु सेवा कार्यालय दोलखामा दुई जना पशु चिकित्सक सहित नौ जना प्राविधिकको दरबन्दी रहेकोमा अहिले एक जना पशु चिकित्सक सहित चार जनामात्र रहेको कार्यालय प्रमुख डा. पौडेलको भनाई छ । त्यसमा पनि ल्याब परीक्षण सम्बन्धी तालिम लिएको प्राविधिक नभएकोले प्रयोगशालामा रहेका सामानहरुको समेत प्रयोग हुन नसकेको डा. पौडेल बताउँछन् । 

अहिले हामी प्रयोगशालामा गोबर परीक्षण बाहेक अन्यकुरा परीक्षण गर्नसक्ने अवस्थामा छैनौ – डा. पौडेलले भने । पशु सेवा कार्यालयमा अधिकांश गोवर परीक्षणको लागि आउने भएपनि केही– केही केस रगत लगायतको परीक्षण गर्नुपर्ने पनि आउने र त्यस्तो अवस्थामा प्रभावकारी उपचार सम्भव नहुने उनको भनाई छ ।

आफू कार्यालय प्रमुख भएर आएदेखि प्रयोगशाला सञ्चालनको लागि आवश्यक जनशक्ति र थप उपकरण आवश्यक भएको विषयमा प्रदेशमा ताकेता गरिरहेको तर अहिलेसम्म सुनवाइ नभएको डा. पौडेलको भनाई छ । मैले प्रयोगशाला लगायत पशु सेवा कार्यालयलाई चाहिने अन्य कुराहरुको बारेमा प्रदेशमा पटक– पटक कुरा गरेको छु । प्रदेशबाट सचिव र निर्देशकले स्थलगत अनुगमन गर्दा पनि यसबारे जानकारी गराएको छु, डा. पौडेलले भने– तर सुनवाइ भएको छैन । 

अहिले लिखित रुपमा प्रदेशमा जानकारी गराएको र सकेसम्म चाँडै प्रयोगशालाको समस्या समाधान हुने डा. पौडेलको भनाई छ । क्वारेन्टाईनको विषयमा पनि सबै पालिकासँग समन्वय गरेर समाधानको पहल गर्ने उनले बताए ।