नेपाल भाषा मंका खलः यलमा नेतृत्वको दौड

752
Shares

ललितपुर ।

नेपालको भाषा र जातीय अधिकारको आन्दोलनको ‘ब्रान्ड’ रूपमा देशभरि पहिचान बनाएको नेपाल भाषा मंका खलः यलको अबको नेतृत्वको चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ ।

२०३७ सालको जनमत संग्रहताका स्थापित मंका खलःको विगत पहिचान जोगाउँदै र अहिलेको समयको मागअनुरूप अघि बढाउन बाबुराजा महर्जन र महेन्द्रलाल महर्जन आआफ्ना प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

मंसिर ६ गते शनिवार अध्यक्ष एक, दुई अनिवार्य महिला सदस्य र नौ जना खुल्ला सदस्यसहित १२ पदका लागि मतदान हुनेछ । निर्वाचनमा महर्जनद्वय आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । बाबुराज अहिले कार्यसमितिका उपाध्यक्ष र महेन्द्र सचिव हुनुहुन्छ । यस निर्वाचनले संस्थाको भविष्यलाई अझ मजबुत बनाउनका लागि दुवै उम्मेदवारले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । यसपटकको निर्वाचन भाषा, संस्कृति, र जातीय अधिकारको आन्दोलनको सशक्त भविष्यको निर्धारण गर्न महत्वपूर्ण मोडका रूपमा लिइएको छ ।

भाषा र जातीय अधिकारको पर्यावाची बनेको मंका खलः नेपालको संवत्को राष्ट्रिय अभियानलाई व्यापक बनाउनदेखि लिएर पञ्चायती विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पहिलो पुस्ताका नेतृत्वपछि पुस्तान्तरणको क्रममा केही शिथिल बनेको मंका खलः पछिल्लो सक्रियतासँगै स्थानीयको अपनत्व वृद्धि हुँदै गएका पाइएको छ । यस संस्थाको नेतृत्वमा फेरबदलको प्रक्रियाले यहाँको राजनीतिक व्यावसायिक र सामाजिक क्षेत्रमा पनि प्रभाव पार्ने भएकोले निर्वाचनलाई महत्वका साथ नियालिएको छ ।

स्थापना कालदेखि भाषा, साहित्यिक तथा सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूको बाहुल्य रहेकोमा अहिले यसको सदस्य तथा उम्मेदवार बन्न विभिन्न पेशा, व्यवसायी, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी, कलाकार र खेलाडीहरू पृष्ठभूमिका व्यक्तिहरूले पनि देखाएको रुचिले चुनावी रौनकको घेरा अझ बढेको देखिएको छ ।

अध्यक्षका प्रत्याशी महर्जनद्वय र उनका प्यानलहरू बदलिदो परिवेशमा विगतको विरासत र अहिलेको रुचि र आवश्यकतालाई मध्यनजर गरी संस्थागत विकासका लागि प्रतिबद्धता व्यक्त गर्छन् । यस निर्वाचनलाई नजिकबाट नियालिरहेकाहरूको अनुसार निर्वाचनको परिणाम केवल संस्थाको नयाँ नेतृत्वको चयनमात्र होइन, यस संस्थाले अघि बढाउने अधिकारमुखी गतिविधिदेखि, विभिन्न रचनात्मक क्रियाकलापका लागि महत्वपूर्ण हुनेछ ।

अध्यक्षका उम्मेदवार बाबुराजाले ललितपुर पुरानो ऐतिहासिक, कला, संस्कृति, भाषा, लिपि, साहित्य, जनजातिसहित मौलिक पहिचान बोकेको नगर भएको उल्लेख गर्दै त्यसको संरक्षण र संवद्र्धनलाई चुनावी एजेन्डा रूपमा अघि सार्नुभएको छ । मंकाः खलःको कार्यालय व्यवस्थित बनाउने, पूर्वाधार विकास गर्ने, परम्पराको जगेर्ना गर्ने, विज्ञ सल्लाहकारहरूको सल्लाहमा संस्थालाई अघि बढाउने पनि उहाँको प्रतिबद्धता रहेको छ । साथै नेपाल भाषा र लिपि तथा साहित्य सिर्जनासँगै यसको प्रयोगमा जोड दिँदै पत्रिका एवं पुस्तक प्रकाशन गर्ने कार्यलाई पनि उनको प्राथमिकतामा राखेका छन् ।

यस संस्थाले नेपालको भाषिक, जातीय समानताको आन्दोलनमा निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अहिलेको अवस्थामा अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा उहाँकोे जोड रहेको छ ।अध्यक्ष पदका अर्का प्रत्यासी महेन्द्रलाल नेपालभाषा मंकाः खलःलाई केवल भाषिक संस्थामा मात्र सीमित नराखी ललितपुरका सबै संघसंस्था एवं जातीय संगठनहरूको साझा प्रतिनिधित्वमूलक संस्थाको रूपमा विकसित गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

भाषा र जातीय अधिकारका अगुवाहरूले स्थापना गरेको सो संस्थाको गौरवपूर्ण इतिहासलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्र्नुपर्नेमा खाँचो औंल्याउँदै उहाँले भन्नुभयो ‘त्यसका अहिलेको चुनौती र आवश्यकतालाई सम्बोधन गर्दे जानुपर्ने खाँचो छ ।’
भाषा, लिपिको प्रयोगको क्षेत्र व्यापक बनाउने, ललितपुरका विभिन्न स्थानका मौलिक नामहरू प्रचलनमा ल्याउने, सत्यमोहन जोशी साहित्य पुरस्कार अक्षयकोष स्थापना, चार विद्वानको नाममा पुरस्कार, पुस्तकालय स्थापना तथा पुस्तक प्रकाशन, भौतिक संरचना निर्माण, तिथिमितिको एकरूपता, अमूर्त सम्पदा संरक्षण, भाषा प्रवद्र्धनमा कार्टुन प्रयोग, रोजगारमा लोकसेवा जाँच उत्प्रेरणा, राष्ट्रिय विभूति शंखधर साख्वा सालिक प्रतिस्थापनलगायतका विषयहरू उहाँका एजेन्डाहरू हुन् ।

कार्यसमितिको जम्मा ९ जना खुल्ला सदस्य पदका लागि १८ जना सदस्यहरूबीच प्रतिस्पर्धा हुने भएका छन् । मंकाः खलःको विधानबमोजिम विजयी सदस्यहरूबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष एक एकजनाले पद प्रतिष्ठापन गर्नुहुनेछ ।बाबुराजाको प्यानलमा न्हुच्छेलाल महर्जन (कपुर), उकुलाल महर्जन, अमिर महर्जन (चन्द्र), राजु महर्जन (जुजु), कृष्णबहादुर महर्जन (माजाः) विकास महर्जन, बेखारत्न महर्जन, प्रवीण महर्जन र विनोद ताम्रकार रहनुभएको छ । त्यसै गरी महेन्द्रको प्यानलमा रजिन सिं, विनोद महर्जन, प्रेम महर्जन (चिरी) राजेन्द्र महर्जन, राजु ताम्रकार, रुबिन शाक्य, कृष्णभक्त डंगोल, रविन्द्र बाराही र दिलबहादुर चित्रकार (तुयु पु) रहेका छन् ।

दुई जना महिलाका लागि हाल कार्यसमिति सदस्य फरिन्दा महर्जन, रमना महर्जन बज्राचार्यले उम्मेदवारी दिनुभएको छ भने उनीहरूसँगै बाबुराजा प्यानलबाट उम्मेदवारी दिएका नानी हिरा शाक्य र मञ्जु बज्राचार्यले प्रतिस्पर्धा गर्दै छिन् ।१ हजार २ सय ४४ जना कुल मतदाता रहेको मंका खलःको यसपटकको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सामाजिक संघसंस्थादेखि र विभिन्न राजनीतिक दलमा रहेका नेता र कार्यकताहरू अहिले चुनावी माहोलमा होमिएका छन् ।