निर्वाचनमा भाग लिएर अराजकता रोक्न आग्रह


काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने निर्वाचनमा भाग लिएर लोकतन्त्रलाई सुदृढ बनाउन र अराजकता रोक्न सबै दलहरूलाई आग्रह गर्नुभएको छ । उहाँले घोषित निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

बुधबार सर्वदलीय बैठक आह्वान गर्दै प्रधानमन्त्री कार्कीले जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी हरेक नागरिकले निर्भयताका साथ मतदान गर्न सक्ने वातावरण सिर्जना गरिने प्रतिवद्धता जनाउनुभयो । बैठकमा सम्बोधन गर्दै कार्कीले संसद् पुनःस्थापनाको अडान नलिन दलहरूलाई आग्रह गर्नुभयो । पुनःस्थापनाको अडान लिने हो भने त्यसले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहो¥याउन खोजेको पुष्टि हुने उहाँको भनाइ थियो । अबको राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन अपिल गर्दै भन्नुभयो – ‘यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।’