संस्थापन र इतर पक्ष आ–आफ्नो अडानमा भएनन् टसमस


–कांग्रेसभित्र पनि धेरै निवर्तमान सांसदहरू प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा

काठमाडौं ।

कांग्रेसको विवाद मिलाउन सभापति शेरबहादुर देउवा नै सक्रिय बन्नुभएको छ । कांग्रेसमा महाधिवेशसन चुनाव अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा एक महिनादेखि जारी विवाद निरुपण हुन सकेको छैन । कांग्रेसको झन्डै डेढ महिनादेखि जारी केन्द्रीय समितिको बैठकमा विवाद हुँदा महाधिवेशनको मिति तोकिन नसकेको हो ।

कांग्रेसमा संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा शेखर कोइराला समूह भने चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छ । दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नहुँदा कांग्रेसको विवाद लम्बिएको हो । सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर जानुभएको थियो ।

त्यस बीचमा देउवाको अभावमा पार्टी दिनहुँजसो अनिर्णयको बन्दीजस्तै हँुदै आएको थियो तर देउवा उपचार सकेर कार्तिक २८ गते नेपाल आएपछि पनि विवाद कायमै छ । दुवै समूह आ–आफ्नो अडानबाट टसमस नभएपछि विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ ।

देउवाले विभिन्न नेताहरूसँग भेट गरी राय लिँदै आए पनि उहाँसमेत अन्योलमा रहनुभएको बताइएको छ । उहाँले इतरपक्षमा नेता शेखर कोइरालासँग मंगलवार छलफल गर्नुभएको थियो । शेखर र महामन्त्री समूह चुनावअघि विशेष महाधिवेशन गरेरै भए पनि कांग्रेसमा नयाँ नेतृत्व चयन गर्ने पक्षमा रहेको छ । तर, संस्थापन पक्ष त्यसलाई रोक्न लागेको छ । कांग्रेसमा पनि एउटा समूह प्रतिनिधिसभा पुनःस्थापना गरेर जानुपर्ने पक्षमा छ । पुनःस्थापनाको पक्षमा धेरै विघटित प्रतिनिधिसभाका धेरै सांसदहरू रहेको बताइएको छ ।

नेताका घरहरू ध्वस्त भएको र मनोविज्ञान नै आतंकित भएको अवस्थामा तत्काल चुनावमा जान नसकिने मत पनि कांग्रेसभित्र ठूलो रहेको बताइएको छ । नेता श्याम घिमिरेले आफूहरू प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने पक्षमा रहेको बताउनुभयो । कांग्रेसले पनि सरकार अलोकतान्त्रिक तबरले गठन भएको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र लोकतन्त्रमाथि चुनौती थपिएको निष्कर्ष निकाल्दै आएको छ ।