शीतलहर र हिमपात पूर्वानुमानयोग्य घटना हो यसबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक छ: मन्त्री अर्याल 


काठमाडौँ। 

 गृह मन्त्री ओमप्रकाश अर्यालले शीत लहर र हिमपात पूर्वानुमानयोग्य घटना भएकाले यसका पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीको वैज्ञानिक सुदृढीकरण गर्नु आवश्यक रहेको बताउँदै  यसको लागि पूर्व तयारी अवस्थामा रहन निर्देशन गरेका छन्।  

प्राकृतिक प्रकोपबाट हुने क्षति र न्यूनीकरणका लागि सरोकारवाला सबै निकाय र राज्यले एउटै आवाज र प्रतिबद्धता कायम गर्दै मानव जीवन र सम्पत्तिको रक्षा गर्नु हामी सबैको साझा उत्तरदायित्व हुनु पर्ने विचार व्यक्त गरेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार आयोजना गरेको ‘गृहमन्त्रीसँग विपद् संवाद कार्यक्रम’ मा बोल्दै , गृहमन्त्री अर्यालले भने  , “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र पूर्व सूचना रेडियो, टिभी, एसएमएस, सामाजिक सञ्जाल, स्थानीय चेतावनी संयन्त्र लगायतका माध्यमबाट जोखिमयुक्त वर्ग, क्षेत्र र समुदायलाई समयमै पुर्‍याउन अत्यावश्यक रहेको छ। ” जसका लागि मन्त्रालय र प्राधिकरण लाग्नु पर्ने बताए।  

प्राधिकरणले तयार गरी जारी गरेको दुई वटा शीत लहर तथा हिमपात सम्बन्धी राष्ट्रिय कार्य योजना कार्यान्वयनमा तीनै तहको सरकार, सरोकारवाला निकाय, दात्री निकाय, सञ्चार जगत, निजी क्षेत्र सबैको उत्तिकै जिम्मेवारी हुने समेत बताए।  

“शीत लहर र हिमपातका पूर्व तयारी र प्रतिकार्य एक राष्ट्रिय चुनौती पनि हो। यसका कार्य योजना कार्यान्वयनका लागि बजेट लगायतका श्रोत साधनको व्यथापन, संस्थागत क्षमता विकास, सरोकारवाला सबै निकायहरूबिच समन्वय र जोखिममा रहेका समुदायमा पूर्वानुमान तथा पूर्व सूचनाको पहुँच पुर्याउन्दै पूर्व चेतावनी, सुरक्षा, आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नु पर्ने आवश्यक रहेको छ, मन्त्री अर्यालले भने  ।

“सहभागिता, समन्वय र स्पष्ट रूपमा भूमिका निर्वाह नै दिगो सङ्कट व्यवस्थापनको आधार ह।  शीत लहर र हिमपातले विशेष गरी वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्ग, हिउँदमा अस्थायी आश्रय स्थलमा बस्ने व्यक्तिहरूमा बढी असर पार्ने हुनाले ती संकटासन्न वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी र प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देशनसमेत दिए। 

कार्यक्रममा मन्त्री प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद भट्टले प्राधिकरणले रियाक्टिभ भन्दा पनि प्रोयाक्टिभ अवधारणामा काम गरिरहेकोले नै मनसुन जन्य विपद्का घटनामा कमी आएको र यसपालिको जाडो मौसममा हुने भारी हिमपात र शीतलहरूको बेलामा पनि कम भन्दा कम क्षति हुने गरी कार्य योजनालाई कार्यान्वयन लगिनु पर्ने धारणा राखे ।  

सिइओ भट्टले गृहमन्त्री अर्यालले समेत  मनसुनमा जस्तै यसपालिको हिमपात र शितलहरमा हुन सके जोखिम न्यूनीकरण गर्न समयमै पूर्व तयारीका काम गर्न निर्देशन भएपछि मन्त्रालय र प्राधिकरण प्रोयाक्टिभ ढङ्गबाट काम गरिरहेको जानकारी दिए ।  

कार्यक्रममा मन्त्री अर्यालले प्रत्यक्ष भिडियोको माध्यमबाट चार वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट (महोत्तरी, रौतहट, मनाङ र सोलुखुम्बु) यसपालि हुन सक्ने हिमपात र शितलहरबाट नागरिकलाई बचाउने पूर्व तयारी तथा कार्य योजनाबारे जानकारी लिएका थिए ।