सफ्टवेयर इन्जिनियर रक्षा मिसेस नेपाल वर्ल्ड २०२५ विजेता


बुटवलकी रक्षा पन्त राजधानीमा हालै सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ उपाधि विजेता भएकी छन्।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै सफ्टवेयर इन्जिनियर र फुडमाण्डुको मेनेजर रहेकी रक्षाले शीर्ष उपाधि चुमेकी हुन्। प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले सोधेको ‘समाजमा विद्यमान विभिन्न विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ’ भन्ने निर्णायक प्रश्नको प्रभावकारी र तार्किक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्। उनले मस्ट फोटोजेनिक उपउपाधिलाई पनि आफ्नो बनाइन्।

प्रमुख उपाधि जितेपछि उनी मञ्चमै आँसु झारेर रोएकी थिइन्। खुसुक्क कार्यक्रम स्थलमा आएर मास्क पहिरिएर दर्शकदीर्घामा बसिरहेकी उनकी नायिका दिदी सुरक्षा पन्तले बहिनीले मुख्य उपाधि चुमेपछि मञ्चमै गएर बधाई दिँदै उनीसँग फोटो खिचेकी थिइन्।

रक्षाले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरेकी छन्। प्रतियोगितामा विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा वेष्ट डान्सरको विजेता भए।

सोही मञ्चमा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनलका साथमा फेशन आइकन भइन् भने दिपिका तामाङ एमएस नेपाल इन्टरनेसनल उपाधि विजेता भइन्। दुबै विजेताले सिंगापुरमा हुने प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने छन्। सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साढे ३ दशकदेखि फिल्मका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याएवापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो। मोडलद्वय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गर्दै सम्मान व्यक्त गरेका थिए।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन्। त्यसै गरी मस्ट फ्रेन्डली कुसुम खड्का, मस्ट ट्यालेन्टेड कञ्चन झा, मिसेस इको फ्रेन्डली कल्पना विष्ट, ब्युटी विथ कम्प्यासन, हेल्दी स्किन तारा खनाल, बेस्ट र्याम्प वाक सुम्निमा खापुङ, बेस्ट स्माइल विनिता अधिकारी, मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, शुभाना रोक्का, बेस्ट पर्सनालिटी इमायुं राई, बेस्ट फिजिक सुमिना महर्जन, इन्टलेक्चल व्युटी गंगा लामिछाने, मेनेजमेन्ट च्वाइस उपउपाधि सजनी जोशीले प्राप्त गरे।

अश्विनीकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनको संयोजनमा सम्पन्न प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए।