एन्फा र खेलाडी संघको वार्ता भएन


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघको वार्ता हुन सकेन । प्रत्यक्ष प्रसारणको विषयमा कुरो नमिलेपछि एन्फा र खेलाडी संघको वार्ता हुन नसकेको हो । खेलाडी संघले वार्ता प्रत्यक्ष प्रसारण गर्नु पर्ने माग राखेको थियो । तर, एन्फाले यो प्रस्तावलाई अस्विकार गरेको थियो ।

गत वैशाखमा धुलिखेलमा आयोजित एन्फाको साधारण सभाबाट पुस ९ गते ए डिभिजन लिग गर्ने पारित गरेको थियो । यसका लागि बजेट पनि अनुमोदन गरिसकेको थियो । तर, सो मितिमा लिग शुरु नभएपछि खेलाडीहरू एन्फाको विरोधमा आएको हो । गत बिहीबार एन्फाविरुद्धको धर्ना प्रर्दशनमा पदक विजेता खेलाडीहरूले पदक एन्फाकै ढोकामा झुण्ड्याएका थिए ।

उनीहरूको माग एन्फाले एक साता भित्र लिग गर्ने निश्चिततासहितको तालिका प्रस्तुत गर्नु पर्ने र यदि यस्तो नभएमा विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने पनि चेतावनी दिएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोलीले एन्फासमक्ष ७ बुँदे मागपत्र पनि पेश गरेको छ । टोलीले एन्फाका महासचिव किरण राईलाई सो माग पत्र बुझाएको थियो ।

गत कातिक १७ गते एन्फा र ए डिभिजन क्लबहरूबीच ए डिभिजन लिगको सट्टा यस वर्ष राष्ट्रिय लिग आयोजना गर्ने सहमति भएको थियो । अर्को सहमति ए डिभिजन लिग अर्को वर्षको पुषमा गर्ने भएको थियो । सो सहमतिप्रति खेलाडी संघले सहमति जनाएन ।

ए डिभिजन लिग र राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरुलाई संवादमार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम वार्ताका लागि आव्हान गरिएको एन्फाले जनाएको थियो । यसै सन्दर्भमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज एन्फा, क्लबहरू र खेलाडी संघ, राष्ट्रिय टोलीका कप्तान र पूर्व कप्तानलाई सामुहिक छलफललाई डाकेको बताइएको छ ।