डब्लुएचओ नेपालका प्रमुख डा. राजेश पाण्डव नेपालबाट बिदाई हुँदै, अब श्रीलंकाको प्रमुख हुने


काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव अब नेपालबाट आफ्नो कार्यकाल पूरा गरी श्रीलंकाका लागि डब्लुएचओ प्रमुखको जिम्मेवारी सम्हाल्न जाँदै । उहाले आउँदो मंसिर ५ गतेबाट नेपालको जिम्मेवारी सकिदैछ । आउँदो मंसिर १५ देखि कोलम्बोमा कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

डा. पाण्डवले सन् २०२० सेप्टेम्बर १८ मा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी फैलिएको अवस्थामै डब्लुएचओ नेपाल प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको थियो । त्यसअघि नेपालमा डा. जोश भेन्डिलियर प्रमुखको रूपमा कार्यरत हुनुुहुन्थ्यो ।

डा. पाण्डव भन्नुहुन्छ “हो, म आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी नेपालबाट विदा हुँदैछु । डब्लुएचओ नेपाल प्रमुखको रूपमा २१ नोभेम्बर मेरो अन्तिम दिन हुनेछ । अब म श्रीलंकामा नयाँ जिम्मेवारी सम्हाल्न जाँदैछु ।”

डा. पाण्डव नेपाल आउँदा कोभिड–१९ महामारीले गर्दा स्वास्थ्य सुरक्षा अपनाउनका लागि लकडाउँनको अवस्था सृजना भएको थियो । अस्पतालहरूमा आइसोलेसन, अक्सिजन, र खोप व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । यतिबेला उहाँको सकृयतामा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै महामारी नियन्त्रणका लागि सक्रिय नेतृत्वदायी भूमिका डा.पाण्डवले दोखाउनुभयो ।

डा.पाण्डवकै समन्वयमा खोप आपूर्ति, स्वास्थ्य सामग्री व्यवस्थापन, जोखिम न्यूनीकरण र स्वास्थ्य जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न मदत मिल्यो । सोही अवसरमा उहाँले स्वास्थ्य पत्रकार मञ्च नेपालसहित देशभरका सञ्चारकर्मीलाई लक्षित गरी स्वास्थ्य पत्रकारिता र एआई–डिजिटल प्रविधि सम्बन्धी जानकारी गराउँनुभयो ।

टिमोर लेस्टेमा काम गर्ने क्रममा उहाँले सुरु गरेको ‘वाक द टक’ अभियानलाई नेपालमा पनि विस्तार गर्नुभयो । यस अभियानले सर्वसाधारणमा स्वस्थ जीवनशैली, नियमित व्यायाम, र मानसिक स्वास्थ्यप्रति चेतना फैलाउने उद्देश्य लिएको थियो ।

पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्र रमण सिंहका अनुसार, “डा. पाण्डव एक सहयोगी, कार्यकुशल र जिम्मेवार अधिकारी हुनुहुन्थ्यो । उहाँ सधैं सरकारसँग समन्वय गरेर काम गर्नुहुन्थ्यो र व्यवहारमा निकै सरल व्यक्तिका रुपमा चिनिनुहुन्थ्यो ।”
त्यस्तै, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया भन्नुहुन्छ, “कोभिड महामारीको बेला उहाँले यति प्रभावकारी ढंगले काम गर्नुभयो कि हजारौं नेपालीको जीवन सुरक्षित राख्न मदत पुग्यो । अन्तर्राष्ट्रिय अधिकारी भएर पनि उहाँले नेपाली भावना बुझ्ने संवेदनशीलता देखाउँनुभयो ।”

डा. पाण्डव सन् २००४ देखि डब्लुएचओसँग आबद्ध हुनुहुन्छ । सुरुमा उहाँ दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयमा मानसिक स्वास्थ्य तथा दुव्र्यसन इकाइमा कार्यरत हुनुहुन्थ्यो । त्यसपछि उहाँले मालदिभ्समा २०१०–२०१५ र टिमोर लेस्टे मा २०१५–२०२० सम्म डब्लुएचओ प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।

सन् २०१६ मा उहाँले विश्व स्वास्थ्य संगठनको महानिर्देशक विशिष्ट पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँको नेतृत्वमा टिमोर लेस्टेमा सुरु भएको ‘वाक द टक’ अभियानले सन् २०१८–१९ को लागि पुनः सोही पुरस्कार दिलायो । डा. पाण्डवका थुप्रै वैज्ञानिक अनुसन्धान र लेखहरू अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित छन् ।

डा. पाण्डवले भारतको मुम्बईस्थित ग्रान्ट मेडिकल कलेजबाट एमबीबीएस गर्नुभएको थियो । त्यसपछि उहाँले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर अध्ययन गर्नुभएको थियो ।डब्लुएचओमा आवद्ध हुनु अघि उहाँ अमेरिकाको वेस्टर्न साइक्याट्रिक इन्स्टिच्युट एण्ड क्लिनिक, पिट्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरमा वरिष्ठ अनुसन्धान सहायकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

डा. पाण्डवको श्रीलंकामा हुने नयाँ जिम्मेवारीले दक्षिण एशियामा डब्लुएचओको सहकार्य र सार्वजनिक स्वास्थ्य सुदृढीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । नेपालमा उहाँले सुरु गरेका सहयोगी, पारदर्शी र व्यवहारिक कार्यशैलीलाई श्रीलंकामा पनि निरन्तरता दिने स्वास्थ्य विज्ञहरूको विश्वास छ ।