काठमाडौं ।
स्वास्थ्य सेवा विभागले गत वर्ष देशभरका संघीय, प्रादेशिकदेखि जिल्ला तहका अस्पतालहरूमा पठाएका अत्याधुनिक हेमाटोलोजी मेसिन थुप्रै स्थानमा प्रयोगविहीन अवस्थामा थन्किएका छन् । यी मेसिनहरूले रगतमा हुने विभिन्न संक्रमण, कलेजो तथा मधुमेहजन्य समस्यालगायत करिब ३० प्रकारका रोगहरूको प्रारम्भिक पहिचान गर्न सहयोग पु¥याउँछन् ।
विभागले ती मेसिनसँगै ‘रिएजेन्ट’ अर्थात रगत परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ पनि निश्चित अवधिसम्म पुग्ने गरी निःशुल्क उपलब्ध गराएको थियो । यसले अस्पतालहरूलाई बजेट व्यवस्थापनमा राहत दिने र सर्वसाधारणलाई निःशुल्क वा न्यून शुल्कमा सेवा पाउने सुविधा प्रदान गर्दै आएको थियो ।
तर, पछिल्ला महिनामा केन्द्रीयदेखि क्षेत्रीय अस्पतालसम्मका कतिपय संस्थाहरूले विभागबाट प्राप्त मेसिन नचलाउने र आफ्नै नाममा नयाँ मेसिन खरिद गर्ने गरेका छन् । यसरी आफ्नै मेसिन खरिद गरेपछि तिनले ‘आफू अनुकूल’ कम्पनीको रिएजेन्ट खरिद गर्ने बाटो पनि खुल्ने हुँदा सार्वजनिक स्रोतको पारदर्शिता र सदुपयोगमा प्रश्न उठेको विभागका एक अधिकारीले बताए ।
उनले भने– ‘वीर अस्पतालदेखि सिभिल, भरतपुर र टिकापुरसम्म विभागले पठाएका मेसिन जडान त भएका छन्, तर धेरैजसो प्रयोग भइरहेका छैनन् । अस्पतालहरूले आफैंले अर्को मेसिन खरिद गरेका छन् । आफैंले मेसिन किन्दा सोही कम्पनीको रिएजेन्ट प्रयोग गर्न पाउने हुँदा त्यसैका लागि यस्तो गरिएको हो कि भन्ने शंका छ ।’
तर, वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले भने यस्ता आरोपहरूलाई निराधार भएको दाबी गर्दै विभागले उपलब्ध गराएका सबै मेसिन सञ्चालनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विभागले उपलब्ध गराएका मेसिनहरूले हामीलाई ठूलो राहत दिएको छ । हामीले प्राप्त गरेका सबै मेसिन हाल सञ्चालनमा छन् र प्रयोग भइरहेका छन् ।’
अर्का एक सरकारी अस्पतालका निर्देशकका अनुसार, कतिपय अवस्थामा विभागबाट पठाइएका मेसिनहरूले सम्पूर्ण परीक्षण कभर गर्न नसक्ने भएकाले वैकल्पिक मेसिन पनि राख्ने प्रावधान अपनाइने गरेको छ । उनका अनुसार एकै प्रकारका सबै परीक्षणका लागि एउटै मेसिनले पर्याप्त नहुने भएकाले कहिलेकाहीँ अर्को मेसिन राखिन्छ, जुन आलोपालो प्रयोग गरिन्छ ।
स्वास्थ्य प्राविधिकहरूको भनाइमा हेमाटोलोजी मेसिनले रगतमा रहेका सेतो र रातो कणको गणना र गुणस्तर परीक्षण गर्छ । यसबाट रक्तअल्पता, संक्रमण, कलेजो तथा मिर्गौलासम्बन्धी समस्या, र क्यान्सरको प्रारम्भिक अवस्था समेत पत्ता लगाउन सकिन्छ ।
यसैबीच स्वास्थ्य सेवा विभागले आगामी वर्षदेखि मेसिन र रिएजेन्ट वितरण प्रणालीलाई डिजिटल अनुगमन प्रणालीमार्फत पारदर्शी बनाउने तयारी गरेको जनाएको छ ।
विभागका एक उच्च अधिकारीका अनुसार राज्यको लगानीमा खरिद गरिएका उपकरणहरूको उपयोग दर नाप्ने प्रणाली लागू गर्ने तयारी भइरहेको छ, ताकि सार्वजनिक स्रोतको दुरुपयोग रोक्न सकियोस् । विभागले लाखौं रुपियाँ खर्च गरेर देशका अस्पतालहरूमा पठाएका ती मेसिनहरू धुलोमाटोमा पुरिए भने त्यसको असर अन्ततः सामान्य बिरामीले पाउने स्वास्थ्य सेवामै पर्ने उनको भनाइ छ ।











प्रतिक्रिया