रोनाल्डिन्होको उदय र पतन: झरेका चम्किलो ताराको उतारचढावपूर्ण यात्रा

0
Shares

रोनाल्डिन्होको ब्यक्तिगत जीवन र फुटबल करियरको कथा इतिहासमा अनौठो र अविस्मरणीय बनेको छ । उनका उत्थान र पतनले खेल र जीवनका उतारचढावलाई व्यक्त गरेको छ । एक समय थियो, जब उनी फुटबलको मैदानमा जादू देखाउँदै संसारभरका दर्शकहरूको मन जित्दै थिए । तर, पछि उनका दैनिकी एउटा कठिन संघर्षमा परिणत भए । रोनाल्डिन्होको जीवन र करिअर, जहाँ उनका अद्वितीय खेल कौशल र असाधारण शैलीले उनलाई फुटबलको एक जीवित आइकन बनायो, त्यही करियरको अन्त्यपछि यात्रा पीडादायक र कष्टपूर्ण बन्यो ।

रोनाल्डिन्होको करिअरको सुरुवात एउटा रौनकपूर्ण यात्रा थियो । उनी मैदानमा हाँस्दै र जोशका साथ फुटबल खेल्थे । फुटबलका असाधारण कौशल र बलसँगको जादूगरी प्रदर्शनले उनलाई तत्कालै संसारभरका फ्यानहरूको मन–मष्तिस्कमा स्थान दिलायो । आफ्नो शालीनता र हंसमुख व्यवहारले उनी सधैं सबैको मनमोहक खेलाडी बने । मैदानमा हरेक गोल र पाससँग रोनाल्डिन्होले आफ्नो कला–कौशल प्रस्तुत गरे, जसले फुटबलप्रेमीहरूलाई मन्त्रमुग्ध बनायो ।

सन २००२ को विश्वकपमा उनले ब्राजिलको लागि जित हासिल गरे । अनि आफ्नो करिअरलाई नयाँ उचाइमा पु¥याए । उक्त खेल जित्ने क्रममा उनले एक अविस्मरणीय गोल गरे । जसले सबै फुटबलप्रेमीहरूको ध्यान खिच्यो । यो गोललाई अहिले पनि फुटबल इतिहासको एक स्मरणयोग्य क्षणका रूपमा लिइन्छ । विश्वकप जितेपछि रोनाल्डिन्होले फुटबलको सर्वश्रेष्ठ पुरस्कार लगायत बालोन डिओर अवार्ड पनि जिते । बार्सिलोनामा उनको योगदान अत्यन्त महत्वपूर्ण रह्यो, जहाँ उनले क्लबलाई युरोपका उत्कृष्ट क्लबहरूको सूचीमा पु¥याए । त्यहाँ उनले च्याम्पियन्स लिग र अन्य धेरै उपाधिहरू क्लबलाई दिलाए । विश्वचर्चित “एल क्लासिको” म्याचको इतिहासमा उनका विपक्षी टिम रियल मेड्रिडका समर्थकहरुबाट तालीमार्फत सम्मान पाउने उनी म्याराडोनापछिका दोस्रो खेलाडी बने ।

सन २००५ को च्याम्पियन्स लिगमा चेल्सीविरुद्धको गोल र रियल मेड्रिडविरुद्धको “एल क्लासिको” मा गरिएको प्रदर्शनले उनलाई बार्सिलोनाका महान खेलाडीहरूको सूचीमा स्थान दिलायो । रोनाल्डिन्होको विश्वकपको गोल र बार्सिलोनामा हासिल गरेका ऐतिहासिक पलहरूले उनको करिअरलाई सुनौलो बनायो । तर, उनका लागि त्यो सफलता सधैं रहन सकेन । सन २००८ मा प्रशिक्षक पेप ग्वार्डिओलाको आगमनसँगै बार्सिलोनामा परिस्थिति बदलियो । ग्वार्डिओलाले विभिन्न बहानामा रोनाल्डिन्होको कडा आलोचना गरे भने मेसीलाई प्राथमिकतामा राखे । जसले गर्दा क्लबमा रोनाल्डिन्होको भविष्य संकुचित बनायो र अन्ततः उनले बार्सिलोनाबाट विदा लिने निर्णय गरे ।

रोनाल्डिन्होको करियरमा सबैभन्दा प्रेरणादायक र महत्वपूर्ण पल भनेको उनको मेसीसँगको सम्बन्ध थियो । रोनाल्डिन्होले मेसीलाई आफ्नो उत्तराधिकारी मान्दै मार्गदर्शन गरे । मेसीका पहिलो गोल रोनाल्डिन्होको असिस्टबाट नै भएका थिए । यसरी उनले मेसीको फुटबलको भविष्यलाई आकार दिलाउन योगदान गरे । बार्सिलोनाबाट विदा लिएपछि रोनाल्डिन्होले एसी मिलानमा समय बिताए । तर, त्यहाँ पनि उनले आफनो पुरानो जोश र खेल कौशल पुनः प्राप्त गर्न सकेनन् । अन्ततः उनले ब्राजिलको फ्लामेन्गो क्लबमा खेल्न थाले र २०१५ मा फुटबललाई विदा गरे ।

तर, रोनाल्डिन्होको जीवनको उत्थान र पतनको कथा यहाँ समाप्त हुँदैन । सन २०१८ मा उनलाई पाराग्वेमा नक्कली पासपोर्ट मुद्दामा गिरफ्तार गरियो । त्यसपछिको कारावास सजायका कारण आर्थिक संकटले उनलाई अत्यन्तै कठिन अवस्थामा पु¥यायो । उनका सम्पत्ति जफत गरिएपछि रोनाल्डिन्होको आर्थिक स्थिति अत्यन्त नाजुक बन्यो । आजको दिनसम्म आइपुग्दा रोनाल्डिन्होले वित्तीय संकट र जीवनका अन्य कठिनाइहरूको सामना गर्दैछन् । उनका सम्पत्ति गुमिसकेका छन् र ठूलो ऋणको बोझले उनलाई थिचेको छ । यद्यपि उनले भविष्यमा आफ्नो जीवनलाई सुधार्ने संकल्प लिएपनि यो यात्रा सजिलो हुनेछैन ।

तर, यति धेरै कठिनाइका बावजुद रोनाल्डिन्होको योगदान फुटबलका लागि सधैं अविस्मरणीय बनेको छ । उनका चमत्कारिक गोल, मैदानमा देखाएको असाधारण खेल कौशल र जादूले फुटबलप्रेमीहरूको मनमा अनन्तकालसम्म स्थान बनाइरहनेछ । रोनाल्डिन्हो सधैं फुटबलका पानाहरूमा एक चम्किलो तारा बनेर चिनिनेछन् । उनको यात्रा एउटा सन्देश हो, जहाँ उत्थान र पतन, संघर्ष र सफलता सबै एकैपटक सामेल छन । फुटबलका पारखीहरुले एक महान् खेलाडी रोनाल्डिन्होको योगदानलाई कहिल्यै बिर्सन छैनन ।

रोनाल्डिन्होको करियरका केही प्रमुख उपलब्धि :

कुल म्याच : ८५३

कुल गोलः ३२८

कुल असिस्टः १९१

चर्चित यूरोपियन क्लब तथ्याङ्क :

पेरिस सेन्ट–जर्मेनः ५५ म्याच, १६ गोल

बार्सिलोनाः २१० आधिकारिक म्याच, ९५ गोल (२००३ देखि २००८ सम्म)

एसी मिलान : ७६ म्याच, २६ गोल

प्रमुख अन्तर्राष्ट्रिय उपलब्धि :
फिफा विश्वकप उपाधि ः १ पटक (सन २००२)

कोपा अमेरिका उपाधिः १ पटक (सन १९९९)

फिफा कन्फेडरेसन कप ः १ पटक (२००५)

राष्ट्रिय टोली ब्राजिलबाट ९७ म्याच खेल्दै ३३ गोल

प्रमुख व्यक्तिगत अवार्ड :

बालोन डि ओर ः १ पटक (सन २००५)

द बेस्ट फिफा मेन्स प्लेयर : २ पटक (सन २००४ र २००५)

युएफा टिम अफ द इयर : ३ पटक (सन २००४,२००५ र २००६)