काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको महादेवा गाउँपालिका–२ मा कृषि सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सो वडाको दोमुहान डगरदेखि खाडो नदी हुँदै भिमबाँधसम्मका सडक बनाउँदा भए गरेका कामभन्दा बढी परिमाण देखाई ६ लाख ९० हजार ६ सय ५७ रुपियाँ ५ पैसा हिनामिना गरेको भन्दै आयोगले सो मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७७÷७८ मा सो सडक बनाउन कृषि विकास निर्देशनालय, नक्टाझिज, धनुषाबाट स्वीकृत २३ लाख ५२ हजार ८ सय ६९ रुपियाँ ६६ पैसा स्वीकृत गरिएको थियो । काम गर्दा बढी रकम भुक्तानी गरी कार्यालयलाई हानी पु¥याउने र संलग्न व्यक्तिले गैरकानुनी लाभ लिएको ठहर भएपछि आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रकमार पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार मुद्दामा संलग्न प्रतिवादीमा कृषि विकास निर्देशनालय, नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झा, कृषि अर्थ विज्ञ तथा योजना प्रमुख विकासकुमार साह र लेखा अधिकृत (छैठौं) चक्रप्रसाद अधिकारी रहनुभएको छ । आयोगले यी तीनै अधिकारीमाथि निर्माण कार्यको नापजाँच, बिल प्रमाणीकरण र भुक्तानीका क्रममा मिलेमतो गरी बढी रकम वितरण गरेको आरोप लगाएको छ ।
त्यसै गरी, महादेवा गाउँपालिका–२ का वडा अध्यक्ष जगदिश मण्डलमाथि पनि नगरेको कामलाई भएजस्तो देखाई गलत सिफारिस गरी भुक्तानी प्रक्रियामा सहयोग गरेको आरोप छ । यस्तै, कृषि सडक निर्माण उपभोक्ता समिति, महादेवा–२, कजौलीका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव र कोषाध्यक्ष सावित्रीदेवी यादव समेतमाथि झुटो विवरण तयार गरी बढी रकम लिन खोजेको आरोप लगाइएको छ ।
साथै, सो सडक आयोजनाका परामर्शदाता संस्था किरु इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र त्यस संस्थाका प्रोप्राइटर हरिशकुमार सिंहविरुद्ध पनि गलत प्रतिवेदन र नापी किताब तयार गरी झुटो विवरणका आधारमा भुक्तानी सदर गराउने कार्यमा संलग्न रहेको ठहर गरिएको छ । आयोगले उहाँहरूलाई मुख्य कसुरदारसरह सजाय हुनुपर्ने माग गरेको छ ।
आयोगले सबै प्रतिवादीबाट ६ लाख ९० हजार ६ सय ५७ रुपियाँ ५ पैसा बिगो असुल गरी कैद र जरिवाना सजाय हुने माग गर्दै कारबाहीको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।











प्रतिक्रिया