एन्टिबायोटिक असफल हुँदै, उपचारमा बढ्दै संकट डब्लूएचओ


काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर एन्टिबायोटिक औषधिप्रति ब्याक्टेरियाको प्रतिरोध तीव्र गतिमा बढ्दै गएको चेतावनी दिएको छ । संगठनको ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स सर्भेलेन्स रिपोर्ट–२०२५ अनुसार सन् २०२३ मा प्रयोगशालाबाट पुष्टि भएका प्रत्येक पाँच संक्रमणमध्ये एक एन्टिबायोटिकले काम नगर्ने अवस्थामा पुगेको छ ।

सन् २०१८ देखि २०२३ सम्म ४० प्रतिशतभन्दा बढी रोगजन्य ब्याक्टेरियामा प्रतिरोध बढेको पाइएको छ । प्रतिरोध सबैभन्दा बढी दक्षिण–पूर्वी एसिया र पूर्वी भूमध्यसागरीय क्षेत्रमा छ, जहाँ करिब तीनमध्ये एक संक्रमण उपचारविहीन बनेको छ ।
प्रतिवेदनले ईकोली र क्लेब्सिएला निमोनियाजस्ता ब्याक्टेरियालाई सबैभन्दा जोखिमयुक्त बताएको छ । यी ब्याक्टेरियाले रक्त संक्रमण, सेप्सिस र मृत्यु निम्त्याउन सक्छन् । विश्वव्यापी रूपमा ईकोलीको ४० प्रतिशत र क्लेब्सिएलाको ५५ प्रतिशत संक्रमण एन्टिबायोटिकसँग प्रतिरोधी भइसकेका छन् ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले एन्टिमाइक्रोबियल प्रतिरोधले आधुनिक औषधिको प्रगतिलाई चुनौती दिएको जिकिर गर्दै जिम्मेवारीपूर्वक औषधि प्रयोग, गुणस्तरीय निदान र नयाँ औषधि विकासमा लगानी अनिवार्य रहेको बताउनुभयो ।

नेपालमा चिकित्सकको सल्लाहबिना औषधि सेवन, कमजोर प्रयोगशाला प्रणाली र निगरानी अभावका कारण जोखिम उच्च रहेको विज्ञहरूको भनाइ छ । उनीहरूले एन्टिबायोटिक बिक्रीमा कडाइ, निगरानी प्रणाली सुदृढीकरण र जनस्तरमा सचेतना वृद्धि गर्न सुझाव दिएका छन् । डब्लूएचओका अनुसार अहिले नै सही नीति अपनाइएन भने एन्टिबायोटिक–पछिको युग सुरु हुनेछ, जहाँ सामान्य संक्रमण पनि प्राणघातक बन्न सक्नेछ ।