नेपाली कम्युनिस्ट पार्टी घोषणा

प्रचण्ड संयोजक र नेपाल सह–संयोजक


काठमाडौं ।

जेन–जी आन्दोलनसँगै पार्टी पुनर्गठन र रूपान्तरणको लहर चलेका बेला पुराना १० वटा कम्युनिस्ट घटक एकीकृत हुँदै नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ । बुधबार राजधानीमा आयोजित एकता सभामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा (चिरन पुन समूह), नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चालगायतका दल र समूहहरू एकीकृत भएका हुन् ।

एकीकृत पार्टीको संयोजक पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक पूर्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तोकिएका छन् । कार्यक्रमलाई नै ‘राष्ट्रिय सम्मेलन’का रूपमा घोषणा गरिएको उक्त सभामा नवगठित पार्टीको घोषणापत्र र विधानसमेत सार्वजनिक गरिएको छ । ‘नेपाली कम्युनिस्ट पार्टी’ले सार्वजनिक गरेको २३ बुँदे प्रतिबद्धतामा जेन–जी आन्दोलनका माग र आकांक्षाको सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

एकता घोषणापछि संयोजक प्रचण्डले नयाँ पार्टीलाई देशका संकट समाधान गर्न सक्षम शक्तिका रूपमा स्थापित हुने दाबी गर्नुभयो । सह–संयोजक माधवकुमार नेपालले पार्टीको अग्निपरीक्षा सुरु भएको भन्दै छुटेका वाम घटकलाई समेत यस एकतामा ल्याउने प्रयास जारी रहने दाबी गर्नुभयो ।