फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नं २६ नयाँ बसपार्क गेट नजिक गोंगबु प्रभागको गस्ती टोलीले मङ्गलबार राति एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रभाग गोंगबुबाट मिति २०८२ साल कार्तिक १७ गते राति ८: ३० बजे नियमित गस्तीका क्रममा सडक खण्डमा संकास्पद रूपमा हिँडिरहेका झापा दमक नगरपालिका–९ घर भएका २२ वर्षीय पर्वत भट्टराईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्राथमिक सोधपुछ तथा अनुसन्धानपछि प्रहरीले पत्ता लगाएको अनुसार पर्वत भट्टराई यसअघि लागुऔषध र चोरी मुद्दामा पक्राउ परी अदालतको आदेश अनुसार जगन्नाथदेवलस्थित केन्द्रीय कारागार सुन्धरामा पुर्पक्षका लागि थुनामा रहेका थिए। तर, २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा तोडफोड र आगजनी भइरहेका बेला मिति २०८२ भदौ २४ गते उनी कारागारबाट भागी फरार भएका थिए।

फरार रहेको तथ्य खुलेपछि प्रहरीको नियन्त्रणमा रहेका भट्टराईलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी मिति २०८२ कार्तिक १८ गते अपराह्न ४:०० बजे सम्बन्धित कारागार कार्यालयमा पुनः पठाइएको प्रभाग गोंगबुका प्रहरी स्रोतले जनाएको छ।