‘यलुङ रि हिमाल’ आरोहणको क्रममा ३ विदेशीको मृत्यु, ८ जना  बेपत्ता

5.26k
Shares

दोलखा।

दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको लागि गएको १५ जनाको टोली मध्ये  ३ जना विदेशीको मृत्यु भएको छ।  ८ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । चार जना घाइते भएको स्थानीयको भनाई छ ।

मृतक तीन जना मध्ये  फ्रान्सका आरोहि क्यारोल फुचसको मात्र नाम खुलेको स्थानीय प्रशासनले जनाएको छ । अन्य दुई जनाको नाम नखुलेको बताईन्छ । बेपत्ता मध्ये  नेपाली गाईड पदम तमाङ, इटलिका पाउलो कोको र क्यानेडियन नागरिक मार्कोस डि मार्सेलोसको मात्र पहिचान खुलेको छ । चार जना घाइते मध्ये  नेपाली गाईड निमाग्याल्जेन शेर्पाको मात्र पहिचान खुलेको स्थानीय प्रशासनले जनाएको छ ।

उनीहरु गत कार्तिक ११ गते आरोहणको लागि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । सोमवार विहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोली विहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए । 

गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पा आफूले पनि यलुङ रि हिमाल आरोहणको क्रममा केही आरोहि बेपत्ता भएको र केहिको मृत्यु भएको खबर पाएको र त्यसबारे थप जानकारी लिने प्रयास गरिरहेको बताउँछन् । 

आरोहण टिममा दुई-तीन वटा ग्रुप रहेको बुझिएको छ । एउटा ग्रुपमा दुई जना विदेशीसहित चार जना रहेको र उनीहरु यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको बुझिएको छ । डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुई जना भने ना गाँउमा बसेको स्थानीयले बताए । 

उनीहरु बेपत्ता भएको खबर ना गाँउमा १० बजेतिर थाहा भएको र लगतै उद्धारको लागि हेलिकप्टर मगाईएको भएपनि कानुनी प्रक्रिया  पूरा गर्दा ४-५ घण्टासम्म पनि हेलिकप्टर आउने अवस्था नभएको बेपत्ता आरोहिका साथीहरुले गुनासो गरे । हेलिकप्टर बेलामै आउनसकेको भए उद्दारमा सहज हुने उनीहरु बताउँछन् । 

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले यलुङ रि हिमाल आराहणको क्रममा १५ जना मध्ये  ८ जना बेपत्ता भएको र तीन जनाको मृत्यु भएको खबर प्राप्त भएको र उनीहरुको खोजी  तथा उद्धारको प्रयास भै रहेको बताए । 

बेपत्ताको खोजी  र घाइतेको उद्धारको लागि सोमवार दिउँसो लामाबगरबाट नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोली  यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।