उपत्यकामा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ


काठमाडौँ।

उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गर्दै आएका समूहका पाँच जना व्यक्ति पक्राउ परेका छन् । उनीहरूबाट ठूलो परिमाणमा सुन, मोबाइल फोन र अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले ती पाँच जनालाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरगढी गाउँपालिका–६ का राज लामा (२८ वर्ष), उदयपुर ताप्ले गाउँपालिका–४ का विशाल भन्ने दुर्ग बहादुर मगर (२० वर्ष), रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का दिल बहादुर बिक (३२ वर्ष), बागलुङ गल्कोट नगरपालिका–२ का गोबिन्द सुनार (४० वर्ष) र कैलाली लम्कीचुहा नगरपालिका–७ का दिपेस रसाईली (२२ वर्ष) रहेका छन् ।

राज लामा र दुर्ग बहादुर मगरले मोटरसाइकल प्रयोग गरी विभिन्न स्थानमा सिक्री तान्ने गरेको र बाँकी तीन जना व्यक्तिले लुटिएको सुन खरिद–विक्रीमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

लुटपाट भएका स्थानहरू

उनीहरूले गत असोज र कात्तिक महिनामा ललितपुर र काठमाडौंका विभिन्न स्थानमा गरी सात पटक सिक्री लुटपाट गरेका थिए ।

असोज ८ गते ललितपुरको नख्खुडोलबाट १.५ तोलाको सिक्री,

असोज २३ गते नागार्जुन–३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको सिक्री,

असोज २६ गते ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री,

कात्तिक १ गते नागार्जुन–१ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री,

सोही दिन रामकोट टेम्पो पार्क र थापाचोक नजिकबाट सिक्री तथा मोबाइल लुटपाट,

कात्तिक १ गते नै तार्केश्वर–बालाजु नेपालटारबाट २ तोलाको सिक्री चुडालिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्री
राज लामा र दुर्ग बहादुर मगरको डेराबाट प्रहरी टोलीले Samsung, Redmi, iPhone लगायतका १० वटा मोबाइल, विभिन्न कम्पनीका ७३ सिम कार्ड, मोटरसाइकलका बिल बुक, फाइल र चोरीमा प्रयोग भएका मोटरसाइकल दुई थान बरामद गरेको छ । साथै, लक्ष्मी ज्वेलर्सको सुन खरिद बिल, विभिन्न व्यक्तिका सवारी अनुमति पत्र र लुटपाटका बेला प्रयोग गरिएका कपडा समेत फेला परेको प्रहरीले जनाएको छ ।

भक्तपुर सल्लाघारीस्थित श्री लक्ष्मी ज्वेलर्सका सञ्चालक दिल बहादुर बिकको पसलबाट ३ लाख ८८ हजार ५ सय नगद,
कुलेश्वर बसोबास गर्दै आएका दिपेस रसाईलीको कोठाबाट ६४ लाल तौल बराबरको सुनको ढिक्का ४ थान,
र कपनस्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक गोबिन्द सुनारको पसलबाट ७ तोला ४८ लाल बराबरको सुनका ढिक्का र सिक्री साथै १ लाख ६६ हजार नगद बरामद भएको छ ।

लुटिएको सुन खरिद–विक्री श्रृङ्खलामा अन्य व्यक्ति संलग्न भएको आशंका गर्दै प्रहरीले अनुसन्धान विस्तार गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू संगठित रूपमा उपत्यकाका विभिन्न क्षेत्रमा मोटरसाइकलमार्फत सिक्री लुटपाट गर्दै आएको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।