इचंगुनारायण मन्दिर परिसरमा हतियार देखाएर आतंक सिर्जना गर्ने दुई युवक पक्राउ


काठमाडौं ।

राजधानीको इचंगुनारायण मन्दिर क्षेत्र आसपास हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीको टोलीले मिति मंगलबार साँझ करिब ८ बजे काठमाडौँ महानगरपालिका–१८ ढल्कूबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भई हाल काठमाडौं महानगरपालिका–१६ क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ परेका दुवैजनाको साथबाट हतियार बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट ‘YAMAHA’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान, र ‘G.G.’ लेखिएको १२ राउण्ड गोली फेला परेको छ ।

प्रहरीले बरामद गरिएको हतियारसहित दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको जनाएको छ ।

पक्राउ परेकामध्ये समिर श्रेष्ठमाथि यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भएको आशंका गरिएको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।