निर्वाचनमा जुट्न गृहमन्त्रीको निर्देशन


काठमाडौं ।

गृह मन्त्रालयले मधेस प्रदेशमा निर्वाचन केन्द्रित सुुरक्षा समन्वय बैठक सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न सो बैठकले जेनजी आन्दोलनपश्चात विकसित घटनाक्रम र हालको मधेस प्रदेशको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र निर्वाचनको तयारी सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ ।

सो बैठकमा गृहमन्त्री अर्यालले जेनजी पुस्ताले उठाएका माग र आन्दोलनका कारण भाद्र २३ र २४ गते भएको आन्दोलनपश्चात् नागरिक स्तरमा उठेका आवाजलाई सम्बोधन गर्ने गरी गठन भएको वर्तमान सरकारका मूलतः ३ वटा प्राथमिकता रहेका र जसअनुसार पहिलो प्रदर्शनपश्चात् बिग्रेको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्ने, दोस्रो फागुन २१ गते स्वस्च्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र तेस्रो सुशासन प्रवद्र्धन गर्ने रहेको बताउनुभयो ।

उहाँले २१ फागुनमा हुने निर्वाचनलाई समयमा नै सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्न सुरक्षा निकायका सबै प्रमुखलाई निर्देशन दिनुभयो ।त्यसैगरी गृह सचिव रामेश्वर दंगालले बदलिँदो परिवेशमा परिवर्तनलाई आत्मासात् गरी सबै सुरक्षा निकायका कर्मचारीहरुमा निष्ठा, इमानदारिता र समन्वयात्मक रुपमा परिचालित भई काम गरी सुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सो बैठकमा मधेस प्रदेशका प्रमुख सचिव, मध्यपूर्वी पृतनाका पृतनापति, गृह मन्त्रालयका सहसचिव, मधेस प्रदेशका प्रदेश सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरु, सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुलगायतले आ–आफ्नो प्रस्तुति राख्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।