काठमाडौं ।
ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि सुरु भएको आन्दोलक घटनापछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच गोप्य सम्झौता भएको छ। सम्झौता सार्वजनिक नगरिँदा घटनाको पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ ।
किष्ट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमिस पाठकले सोमबार राति सम्झौता सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिलाबाट जन्मिएको नवजात शिशुको स्वास्थ्य जिम्मा अस्पतालले लिने प्रतिबद्धता जनाएको छ । तर सम्झौताका अन्य प्रावधान सार्वजनिक गर्न उहाँले अस्वीकार गर्नुभयो ।
मृतकका दाजु दुरेन राईका अनुसार भने सम्झौता मौखिक मात्र भएको छ । “लिखित सम्झौता गरिएको छैन,” उहाँले बताउनुभयो । उहाँले अस्पतालले बालबालिकाको शिक्षा र स्वास्थ्य जिम्मा लिने कुरा पनि केवल मौखिक रूपमा मात्रै गरिएको जानकारी दिनुभयो।
श्रोतका अनुसार, सम्झौतामा किष्ट मेडिकल कलेजले मृतकका नौ वर्षका छोरा र नवजात दुई बच्चालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने, उनीहरूको सम्पूर्ण स्वास्थ्य खर्च व्यहोर्ने, प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, र मृतक महिलाको उपचार खर्च मिनाहा गर्ने उल्लेख छ।सम्झौता गोप्य राखिनुले विषय थप रहस्यपूर्ण बनेको छ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति सुत्केरी भएपछि मृत्यु भएको थियो। सामान्य सुत्केरीका क्रममा चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पताल परिसरमा तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरी भिड नियन्त्रणमा लिएको थियो। घटनापछि अस्पतालको सेवा केही समय अवरुद्ध भएको थियो।











प्रतिक्रिया