बाघको आक्रमणबाट खत्रीको मृत्यु

बाघ नियन्त्रणमा लिने प्रयास जारी


बाँके ।

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९, गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय ईन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका खत्रीलाई शुक्रवार बाघले आक्रमण गरेको हो । घाँस काट्न गएका खत्री सम्पर्कविहीन भएपछि स्थानीयले खोजतलास गरेका थिए । उनको शव शनिवार क्षतविक्षत अवस्थामा फेला परेको छ । शरीरको मासु खाएको, टाउको र खुट्टा छुट्टिएको अवस्थामा शव भेटिएको छ ।

बाघले पटक–पटक मान्छेलाई आक्रमण गरेको भन्दै स्थानीयले निकुञ्ज प्रशासनविरुद्व आक्रोश पोखेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै जाँदा यस्ता दुर्घटना भइरहेका छन् । निकुञ्ज आसपासका जनता त्रसित भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रबहादुर कँडेलले मान्छेलाई आक्रमण गर्ने बाघको पहिचान गर्न लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खत्रीलाई पाटेबाघ या चितुवामध्ये एउटाले आक्रमण गरेको हो । हामी त्यो पत्ता लगाउन लागिपरेका छौं । घटनास्थलमा सीसीक्यामेरा राखेका छौं । पाटेबाघ या चितुवा जे भए पनि हामी त्यसलाई नियन्त्रणमा लिएर खोरमा थुन्छांै ।’

देशकै कान्छोमध्येको बाँके राष्ट्रिय निकुञ्जमा छोटो अवधिमै बाघको संख्या बढेको छ । वि.सं. २०६७ सालमा स्थापना भएको यो निकुञ्जमा बाघको संख्या २५ वटा पुगेको छ । बाघ संरक्षण गर्नकै लागि बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । यहाँ बाघको आहारा प्रजाति प्रशस्त छन् भने पानीको सुविधा बढाउँदै लगिएको छ । बाघको संख्या बढिरहँदा निकुञ्ज छेउछाउका मानिसको ज्यानको जोखिम बढिरहेको छ । केही वर्षयता नै बाघको आक्रमणबाट ९ जना मानिसको मृत्यु भइसकेको स्थानीय बताउँछन् ।

निकुञ्जले प्रतिबन्ध गरेको ठाउँमा घाँस काट्न जानु बढ्ता जोखिम हुने गरेको पाइएको छ । बाख्राको पकेट क्षेत्र मानिने ढकेरी आसपासका मानिस घाँस काट्न जाँदा नै बाघको आक्रमणमा परेका छन् । निकुञ्ज छेउछाउका जनताको बाली अन्य जंगली जनावरले क्षति पुयाइरहेका छन् । मान्छेमाथि आक्रमण, बालीमा नोक्सानी हुने गरेपछि स्थानीयले बेलाबेलामा चर्काे आक्रोश पोख्ने गर्दछन् । त्यही शनिवार पनि देखियो । आक्रोशितले निकुञ्जका कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् । त्यसको भिडियो खिच्दा कोहलपुरका पत्रकार डिल्ली शाहीलाई पनि दुव्र्यवहार गरिएको छ ।

निकुञ्जमात्रै होइन, आसपासका सामुदायिक वनमा आएर बाघले मान्छेलाई आक्रमण गरिरहेको छ । जानकारहरूका अनुसार, बाघको आफ्नो एरिया हुन्छ । त्यो एरियामा अर्काे बलियो बाघ आयो भने हार्ने बाघ अर्काे ठाउँमा सर्छ । यस्ता हारेका, बुढ्यौली लागेका, सिकार गर्न नसक्ने बाघ बस्तीतिर सर्ने गर्दछन् । र, मान्छेलाई आक्रमण गर्दछन् । बाँकेमा अहिलेसम्मका घटनामा धेरैजसो सामुदायिक वनमा बाघले मान्छेलाई आक्रमण गरेको छ ।