–मुख्य सञ्चालकहरू फरार
–नेपालको कर प्रशासनको निगरानीबाट बच्न विभिन्न बद्मासी
–बिक्री आय लुकाई छिपाई ठूलो मात्रामा कर छली
काठमाडौं।
राजस्व अनुसन्धान विभागले सर्भर विदेशमा राखेर अनलाइनमार्फत कारोबार गरी राजस्व छली गरेको आरोपमा काठमाडौंको तीनकुनेस्थित ‘नेपाल क्यान मुभ प्रालि’ र त्यसका सञ्चालकसहित ६ जनाविरुद्ध ६८ करोड ४४ लाख रुपियाँ बिगो र बिगो बराबरको जरिवाना गरी १ अर्ब ३६ करोड ८८ लाख माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले उनीहरूविरुद्ध आइतबार पाटन उच्च अदालतमा राजस्व छलीसम्बन्धी मुद्दा दायर गरेको हो ।
विभागले ‘नेपाल क्यान मुभ प्रालि’ तथा सो कम्पनीका सञ्चालकहरू रुरु गाउँपालिका ५ गुल्मीका जीवन ज्ञवाली, तिलोत्तमा नपा ३ रूपन्देहीका सुदिप आचार्य, मध्यपुर ठिमी नपा ३ भक्तपुरका मनिषप्रसाद आचार्य, तानसेन नपा ७ पाल्पाका मिठु पौडेल, झापा गाउँपालिका ६ झापाका गंगाबहादुर थापा तथा कम्पनीका उपकार्यकारी निर्देशक लालबन्दी नपा १ सर्लाहीका संगम पौडेल प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । विभागका अनुसार सो कम्पनीका मुख्य सञ्चालकका रूपमा रहेका सुदिप र जीवन हाल अस्ट्रेलियामा रहेका र उनीहरूलाई फरार सूचीमा राखेर मुद्दा दायर गरिएको छ ।
विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार विभागलाई प्राप्त गोप्य सूचनाका आधारमा सो कम्पनीको कारोबारस्थलमा विभागले गरेको आकस्मिक निरीक्षणबाट सो प्रालिले आफ्नो व्यवसायिक कारोबारका लागि ल्याएको अनलाइन प्रणाली एनसीएम नियन्त्रणमा लिई प्रालिको आव २०७६÷७७ देखि आव २०८१÷८२ फागुन सम्मको कारोबार खुुल्ने ट्रायल ब्यालेन्सलगायतका महत्वपूर्ण कागजात तथा प्रमाणहरू बरामद गरी विस्तृत अनुसन्धान गर्दा ठूलो मात्रामा राजस्व छली भएको पाइएको हो । सो कम्पनीले सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको मूल्य अभिवृद्धि कर तथा आयकरमा नदेखाई बिक्री आय लुकाई छिपाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको अनुसन्धानका क्रममा फेला परेको विभागका महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।
विभागका अनुसार कम्पनीले आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोग हुने अनलाइन पोर्टल नेपाल क्यानमुभ डटकमको सर्भर अस्ट्रेलियामा राखेर नेपालमा कारोबार गर्दै नेपालको कर प्रशासनको निगरानीबाट बच्न विभिन्न प्रकारका बद्मासी गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ देखि २०८१÷८२ फागुनसम्मको कारोबारमा कम्पनीले उक्त पोर्टलबाट भएको वास्तविक बिक्री आय लुकाएर आन्तरिक राजस्व विभागमा कम कारोबार देखाएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानको क्रममा कम्पनीले मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपियाँ बराबरको करयोग्य कारोबार लुकाएको भेटिएको विभागका महानिर्देशक घिमिरेले बताउनुभयो ।
विभागले कर छली भएको कुल बिगो रकम ६८ करोड ४४ लाख ५ हजार ७६० रुपियाँ कायम गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार बिगोको शतप्रतिशत जरिवाना अर्थात् ६८ करोड ४४ लाख ५ हजार ७६० रुपियाँ थप गरी कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपियाँ असुलउपर गर्न माग दाबी गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
कम्पनीका मुख्य सेयर धनीहरू सुदिप आचार्य र जीवन ज्ञवालीलाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभई अटेर गरेकाले उहाँहरूलाई फरार सूचीमा राखेर मुद्दा दायर गरिएको हो । सो कम्पनीका उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई भने मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै मतियारका रूपमा आधा सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।











प्रतिक्रिया