प्रतिनिधिसभाबाट असार १५ गतेभित्र शिक्षा विधेयक पारित हुन्छ: गृहमन्त्री लेखक


काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबिच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठककाे उद्घाटन समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरे ।

“असारकाे १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छाैँ । याे तिथि मितिमा सरकारले प्रतिबद्धता गरेकाे हाे ।
असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ,” उनले भने ।

केही विपक्षी दलका मानिसहरुले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेकाे भन्दै गृहमन्त्री लेखकले राेष प्रकट गरे । “संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ,” उनले भने, “याे सबैका बिचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेकाे छ । त्यसलाई सरकारसँग जाेडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ । याे अवराेध चाँडै हट्नुपर्छ।”

संसदकाे अवराेध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाए ।