काठमाडौं।
रेमिट्यान्सको तथ्यांकमा रमाउँदै गर्दा नेपालको औपचारिक प्रणालीबाट नेपालीहरूको विदेश अध्ययन र भ्रमणमा लगानी गरेको खर्च पनि वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्ला तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा नेपालीले १ खर्ब ८५ अर्ब रुपियाँभन्दा बढी रकम विदेश भ्रमण तथा अध्ययनमा खर्च गरेका छन् । नेपालीहरूको विदेश मोह अझै घट्न नसकेको तथा शिक्षा र घुमफिरमा खर्च बढिरहँदा अर्थतन्त्रमा समष्टिगत असर देखिन थालेको छ।
विदेश अध्ययनमै मात्रै १ खर्ब १२ अर्ब ४४ करोड रुपियाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ४ अर्ब रुपियाँभन्दा ८।१ प्रतिशतले बढी हो । यो तथ्यांकले नेपाली युवा र अभिभावकहरूमा अझै पनि वैदेशिक शिक्षाको मोह कायम रहेको पुष्टि गर्छ ।
नेपालमा १० लाखभन्दा बढी पर्यटकहरू भित्रिएको तथ्यांक प्रस्तुत गर्दै गर्दा पर्यटकले नेपाल भ्रमणका क्रममा भित्र्याएको विदेशी मुद्रा ७५ अर्ब ७१ करोड रुपियाँ मात्रै पुगेको छ । अघिल्लो वर्ष यो रकम ६९ अर्ब ७३ करोड थियो । सेवा खाताको हिसाब हेर्दा नेपालबाट बाहिरिएको रकमको तुलनामा भित्रिएको रकम निकै कम भएको देखिन्छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, भ्रमण र शिक्षालगायतका सेवा व्ययको कुल योग १ खर्ब ८५ अर्ब ३ करोड रुपियाँ पुगेको छ, जसमा शिक्षातर्फ १ खर्ब १२ अर्ब ४४ करोड खर्चिएको हो । यो अघिल्लो वर्षको १ खर्ब ५६ अर्ब ९५ करोड भ्रमण व्यय र १ खर्ब ४ अर्ब २५ करोड छ । शिक्षातर्फको व्ययको तुलनामा १७।९ प्रतिशतले वृद्धि भएको हो ।
नेपालीहरूले विदेश भ्रमण तथा अध्ययनका लागि विदेशी मुद्रा बढी खर्च गर्दा सेवा खाता घाटामा परेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म सेवा खाता घाटा ८६ अर्ब ५३ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५० अर्ब ३१ करोड रुपियाँ थियो । विश्लेषकहरूका अनुसार विदेशी शिक्षाको गुणस्तर, अवसर, र रोजगारी सम्भावनाले नेपाली विद्यार्थीहरूलाई आकर्षित गरिरहेको छ। स्थानीय शिक्षाले चाहिएको प्रतिस्पर्धात्मक दक्षता दिन नसकेको गुनासो, झन्झटिलो प्रशासनिक प्रक्रिया, र सीमित अध्ययन विकल्पले पनि विद्यार्थीहरूलाई बाहिर जान बाध्य बनाइरहेको छ ।
‘बकेट लिस्ट’ पूरा गर्न खोज्ने नयाँ पुस्ताको जीवनशैली, खाडीलगायत देशहरूमा बस्ने नेपालीहरूका आफन्तसँग घुम्न जान चाहने प्रवृत्ति र सस्तो हवाई सेवा सुविधाले समेत भ्रमण खर्चमा वृद्धि गराएको विश्लेषण छ ।
विदेश जाने नेपालीहरूको खर्च अत्यधिक बढिरहेको अवस्थामा सरकारले आर्थिक नीतिमा सन्तुलन खोज्नुपर्ने आवश्यकता देखिएको छ । अर्थशास्त्रीहरू भन्छन् – ‘ विदेश शिक्षाका लागि पूर्ण प्रतिबन्ध लगाउनु उपयुक्त होइन। तर, स्थानीय शिक्षाको गुणस्तर सुधार गरी वैकल्पिक अवसर सिर्जना नगरेसम्म विदेशी मुद्रा बहिर्गमन रोक्न सकिँदैन ।’ नेपालमा पर्यटक आगमनमा केही सुधार देखिए पनि विदेशी मुद्रा आम्दानीमा पर्याप्त वृद्धि हुन सकेको छैन। अघिल्लो वर्षको तुलनामा ८।६ प्रतिशतले पर्यटन आय बढेर ७५ अर्ब ७१ करोड पुगे पनि यो रकम कुल सेवा घाटा पूर्ति गर्न पर्याप्त छैन । आर्थिक सर्वेक्षण अनुसार विदेशी पर्यटकले नेपालमा औसत दैनिक ४० डलर खर्च गर्ने गरेका छन् भने उनीहरुको बसाई १३ दिनको हाराहारीमा छ । विमानस्थल, सडक पूर्वाधार, पर्यटन गन्तव्यहरूको विकास तथा आन्तरिक सेवामा गुणस्तरीयता ल्याउन नसक्दा उच्च मूल्यका पर्यटकलाई आकर्षण गर्न सकिएको छैन ।
सेवा खाता घाटा वृद्धि, शिक्षा र भ्रमण खर्चमा विना नियन्त्रणको वृद्धि, र सीमित पर्यटन आय यी सबै संकेत हुन् कि ‘विदेश जानेभन्दा नेपालमै अवसर सिर्जना गर्ने दीर्घकालीन रणनीति बनाइनु अत्यावश्यक छ । शिक्षामा निजी तथा सरकारी लगानी, प्राविधिक शिक्षा र रोजगार ग्यारेन्टी कार्यक्रम, स्थानीय गन्तव्य प्रवद्र्धन, र सेवा क्षेत्रको प्रतिस्पर्धात्मकता सुधारले मात्र दीर्घकालीन रूपमा यस्तो घाटा कम गर्न सकिन्छ ।’











प्रतिक्रिया