काठमाडौं।
स्वास्थ्यमा नागरिकको सर्वव्यापी पहुँच स्थापित गर्ने उदेश्यका साथ विक्रम संवत २०७२ सालमा परीक्षणका रुपमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम २०७४मा ऐन जारी गरी अघि बढेको १० बर्ष भयो । स्वास्थ्य बीमाको दशौँ बर्ष प्रवेशका अवरमा बीमा बोर्डले ३५ बुँदे श्वेतपत्र जारी गरेको छ ।
बोर्डले जारी गरेको श्वेतपत्रमा स्वास्थ्य बीमाको विगत र वर्तमानको अवस्थासहित भविष्यको योजनालाई औल्याएको छ । उक्त पत्रका स्वास्थ्य बीमाले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको र राष्ट्रिय स्थान प्राप्त गरेकोमा सफलता मान्नुपर्ने उल्लेख गरिएको छ । यो श्वेतपत्र स्वास्थ्य बीमा बोर्डबाट गरिने कार्यक्रमका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले जारी गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी गराए ।
उनले स्वास्थ्य बीमाको सुधारका लागि धेरै काम गर्न बाँकी रहेको बताए । उनले हाल ७ सय ४९ वटा स्थानय तहमा स्वास्थ्य बीमा विस्तार भएको र हाल कुल ८९ लाख ५२ हजार १ सय ३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् । गत फागुन मसान्त सम्म क्रियाशील बीमितको संख्या ५७ लाख ५३ हजार ८ सय १७ रहेको छ । यो कुल जनसंख्याको २० प्रतिशत हो । अझै ८० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाका समेट्न थप मेहनत गर्नुपर्छ भने ।
त्यसैगरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमामा बहुसंख्यक घरधुरी समेटिन बाँकी रहेकोले उनीहरुलाई समेट्नुपर्ने चुनौति रहेको बताए । उनले बीमित हुनेको संख्या कोशी प्रदेशमा ३३ प्रतिशत, बागमतीमा २६ प्रतिशत र लुम्बीनीमा १४ प्रतिशत, मधेश, कर्णाली र सुदुर पश्चिममा क्रमश ७ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशत रहेको बताए ।
जारी श्वेत पत्र अनुसार देशका ३ सय ५६ स्थानीय तहमा प्रथम सेवा विन्दु पुगेकोछ । यो ४७ दशमल्भ २ प्रतिशत हुन आउँछ । ३ सय ९७ वटा स्थानिय तह अर्थात् ५२ दशमल्भ ७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा विन्दु नपुग्दा अन्य जिल्लामा गएर सेवा लिनुपर्ने अवस्थामा छन् । यसले स्वास्थ्य बीमाबाट सेवा पाउँन कठीन भएकोछ । सबैले सहज ढंगबाट स्वास्थ्य बीमा सेवा लिन पाउने बनाउँनुपर्ने आजको आवश्यकता भएको बीमाको अध्यक्ष थापा बताउछन् ।
यीनै समस्याका कारण बीमितले छोड्ने क्रम बढेको पनि श्वेत पत्रमा उल्लेख गरिएको छ । एकपटक बीमा गरेपछि नविकरण गर्ने वातावरण तयार पार्न समेत नसकेको देखिन्छ । बीमित मध्ये ४८ प्रतिशतले कुनै न कुनै सेवा लिएको तथ्यांकमा उल्लेख गरिएको छ । सरकारले प्रिमियम भुक्तानी ३ हजार ८ सय लिने र ८ हजार ३ सय ५० दिने गरेकाले बीमा घाटामा गै २२० प्रतिशत बढी भएकाले बीमालाई टिकाउन गाह्रो भएकोले सन्तुलनको अवस्थामा पुर्याउँनका लागि थप प्रयासको आवश्यकता देखिएको उल्लेख गरिएको छ ।
हाल ४ सय ८५ वटा सेवा प्रदायक संस्था शहर केन्द्रित छन् । जसमा ४ सय ४ वटा सरकारी, ३३ सामुदायिक र ४८ वटा नीजि स्वास्थ्य संस्था रहेका छन् । अधिकांश सेवा प्रदायक संस्थाहरु एकै ठाउँमा केन्द्रित छन् । यति मात्र नभै समान प्रकृतिका कार्यक्रमहरु अनुदान, जेष्ठ नागरिक, विपन्न, सरकारी कर्मचारीहरुको छुट्टै स्वास्थ्य सुविधा लगायतका कार्यक्रमहरु स्वास्थय तथा जनसंख्या मन्मत्रालय अन्र्तगत चलेका छन् । यस्ता कार्यक्रममा समन्वयको अभाव भएकै कारण आधार तयार हुन नसकेको बीमा बोर्डको ठम्याई छ ।
श्वेत पत्रमा उल्लेख गरिए अनुसार आम्दानी भन्दा खर्च बढी भएकाले यो कार्यक्रमलाई व्यवस्थित बनाउन थप अभ्यास र पहलको खाँचो रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया