तीनकुने घटनामा गोली लागेकाहरुको अवस्था कस्तो छ ?

1.88k
Shares

काठमाडौं ।

गत चैत्र १५ गते तीनकुने र कोटेश्वरमा राजावादीको आन्दोलन दबाउने क्रममा हानेको गोलीबाट घाइते भएका २० जनाको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । तीमध्ये २ जनाको नेपाल ट्रमा सेन्टरमा सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा ट्याङेक मयुङ गाउँपालिका वडा नं ९ का २७ वर्षीय दिल्लीप्रसाद लुइटेलको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । उहाँको पेटमा गोली लागेको र गम्भीर अवस्थामा अस्पताल पुगी तत्काल शल्यक्रिया गरिएकाले हाल खतरामुक्त अवस्थामा उपचार भइरहेको छ । उहाँलाई अझै केही दिन सघन उपचार कक्षमा नै राखी उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

त्यसैगरी भोजपुरका ३० वर्षीय शम्भु दर्जीको दाहिने कुममा गोली लागेको र ट्रमा सेन्टरमा सामान्य वार्डमा राखी उपचार भइरहेको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । त्यसैगरी कोटेश्वरको भाटभटेनी नजिकै तिघ्रामा गोली लागि घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की २२ वर्षीया रेबिका खत्रीको निजामती कर्मचारी सेवा (सिभिल) अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

उहाँका दाजु दिनेश खत्री (माहिला बुवाका छोरा) सोही अस्पतालमा उपचार पछि घर फर्किसक्नुभएको छ । कोटेश्वर दाजुको कोठातिर जाने क्रममा एसओएस मार्गको टर्निङमा प्रहरीले चलाएको गोली एक्कासी आई दाजुलाई लागेर अगाडिको सटरमा ठोक्किई फर्किएर रेबिकाको तिघ्रामा लागि धेरै रगत बगेपछि गोली लागेका दाइले नै नजिकैको क्लिनिकमा लगेर प्राथमिक उपचार गराई ३० मिनेट पछि एम्बुलेन्समा सिभिल अस्पताल पुर्याएका थिए ।

झडपमा १ सय २८ जना घाइते भएका र त्यसमध्ये हाल ट्रमा, सिभिल, बिएण्डबी, केएमसी, कान्तिपुर लगायतका विभिन्न अस्पतालहरूमा १३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ जना मध्ये ७ जना गोली तथा गम्भीर चोट लागेकाहरू रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।