सरसर्ती हेर्दा मुलुकको अवस्था तहसनहस छ । हरेक क्षेत्रमा जनता पीडामा छन् । नेता मोटाउँदै र जनता दुब्लाउँदै गएका छन् । वर्तमान व्यवस्था देश र जनताको लागि अफाप सिद्ध भएको छ । यो कुरा जनताले पनि भनिरहेकै छन् । देशमा रोजगारी नपाएर लाखौंलाख युवा विदेशिनुपरिरहेको छ ।
वर्तमान गणतन्त्रवादी भन्नेहरुले कमिसन खाँदै देशका कलकारखाना निजीकरण गरे । यो क्रम अहिले पनि यथावत् छ । यसरी हेर्दा जनतालाई अब ठूला दलका नेताहरुप्रति भरोसा टुट्दै गएको छ । देशको परिस्थिति कुन समयमा के हुने हो ? अन्दाज गर्न नसकिने अवस्था छ । नेपाली जनता गणतन्त्रवादीहरुप्रति आक्रोशित भएको अवस्था छ । यो आक्रोशलाई राजनीतिक नेतृत्वले नियन्त्रण नगर्ने हो भने देश जुनसुकै बाटोमा जान सक्ने देखिन्छ । र, राजनीतिक बागडोर सम्हाल्ने यति बेलाका नेताहरुमा पनि अन्यौल रहेको अवस्था छ ।
यति बेला भ्रष्टाचारको कुरा गर्दा भ्रष्टाचार शब्दको अर्थमा विश्लेषण गर्न सक्नुपर्छ । भ्रष्टाचारको अर्थ के हो, के गर्दा भ्रष्टाचार ठहरिन्छ ? त्यो कुरा प्रस्टरुपमा सबैलाई थाहा हुनुप¥यो । मैले बुझेको भ्रष्टाचार भनेको कुनै पनि व्यक्तिबाट कोसेलीको रुपमा वस्तु तथा पैसा लिएर त्यो व्यक्तिको कुनै सानो–ठूलो काम गरिदिनु अथवा उसलाई परेको समस्या समाधान गरिदिनु अर्थात् त्यो व्यक्तिलाई नाफा हुने काम जस्तै– कर्मचारी सरुवा–बढुवा आदि काम पनि भ्रष्टाचार ठहरिन्छ ।
यो व्यवस्था अथवा गणतन्त्रवादी नेता–कार्यकर्ताहरुले बुझेको भ्रष्टाचार के मान्ने ? उहाँहरुको जन्मजात न्वारन भ्रष्टाचारबाटै भएका कारण भ्रष्टाचारलाई उहाँहरुले पुरस्कृत ठान्दै हुनुहुन्छ । यति गर्दागर्दै यिनले पैसाको लागि राष्ट्रलाई नै बेच्न बेर लगाउँदैनन् भन्ने अवस्था छ । भ्रष्टाचारको कुरा गर्दा यिनले एनसेल काण्ड घटाए, यिनले लाउडा काण्ड घटाए, यिनले भुटानी शरणार्थी काण्ड घटाए ।
यिनले ३८ किलो सुन काण्ड घटाए, यिनले गिरी बन्धु टी स्टेट काण्ड घटाए, ललिता निवास काण्ड घटाए । तर दुःखको कुरा यी काण्डमा मुछिएकाहरु क्रमशः चोखिँदै गए । विभिन्न बहानाले यी काण्ड ढाकछोप गरिरहेका छन् । त्यसैले अब गणतन्त्रवादीको हातबाट देश मुक्त भएन भने देश स्वाभिमानी र स्वतन्त्र रहन सक्ने अवस्था छैन ।
अख्तियार मात्र होइन, भ्रष्टाचार नियन्त्रण गर्ने अरु निकायहरु पनि देशमा रहेका छन् । तर भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने संविधानकै प्रावधानहरुले भ्रष्टाचारीहरुले उन्मुक्ति पाइरहेका छन् । अख्तियारले पनि कानुनी बाध्यताले केही गर्न नसकेको देखिन्छ । हालको गणतान्त्रिक संविधानले भ्रष्टाचार नियन्त्रणका लागि गठित अख्तियारदेखि सम्पूर्ण भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुलाई बाँधेको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न गठित निकायहरुमा पार्टी कार्यकर्ता र शुभचिन्तकहरु नियुक्त गर्ने गरिएको छ । यी निकायका पदाधिकारीहरुले पार्टीका नेताहरुको मुख हेरेर वा इशारामा निर्णय गर्ने गरेको देखिन्छ । यसै मेसोमा भन्नुपर्दा महँगी हुनुमा जसको आयस्रोत शून्य छ, त्यो व्यक्तिले महँगी भयो भनेर दुखेसो गर्नु व्यर्थ छ । किनभने यो देशका ठूला पार्टीहरुले ल्याएको गणतन्त्र १८ वर्षको पुग्यो । आजसम्म यिनले गरिबको बारेमा कुनै कुरै सोचेनन् ।
दिनदिनै महँगी बढिरहेको छ, यो पनि उनीहरुले कहिल्यै सोचेनन् । देश विदेशी आयातमा भर पर्नुपरिरहेको छ । अर्को कुरा देशमा कृषिमा काम गर्ने होनाहार युवाहरु लाखौंलाख विदेशिएका छन् । त्यसकारण कसले खेती गर्छ र उत्पादन हुनु ? आफ्नो देशमा उत्पादन नहुने भएपछि देशमा महँगी बढेको हो । महँगी नियन्त्रण गर्ने सरकारी निकाय पनि जिम्मेवार देखिँदैनन् ।
राप्रपा नेपालले आफ्ना एजेन्डा स्थापित गर्न विभिन्न चरणका कार्यक्रमहरु निरन्तररुपमा गरिरहेको छ । हामी जनतामाझ छौं । जनताकै घरदैलोमा पुगिरहेकै छौं । गत निर्वाचनमा प्राविधिक कारणले हाम्रो पार्टीले कम मत पाएको देखिए पनि अहिले त्यो अवस्था छैन । हामी आसन्न उपनिर्वाचनको तयारी क्रममा छौं । तर राप्रपा नेपाल मतपेटिकाबाट व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्दैन । र, हामी अब हुने केन्द्रीय कार्य समितिको बैठकपछि ‘भ्रष्ट व्यवस्था परिवर्तनको लागि आन्दोलन, आन्दोलनको लागि राप्रपा नेपालको संगठन’ भन्ने मूल नाराको ब्यानर लिएर जनताको घर–घर, टोल–टोल, क्षेत्र–क्षेत्र, जिल्ला–जिल्ला पुगी शान्तिपूर्ण आन्दोलनको लागि संगठन मजबुत बनाएर राजधानी काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा छौं ।
जनप्रदर्शन तथा आन्दोलनबाटै गणतन्त्र स्थापना भएकाले गणतन्त्रलाई फाल्न तथा विस्थापित गर्न हामी पनि राजधानीमा शान्तिपूर्ण आन्दोलन गर्ने र आन्दोलनबाटै राजसंस्था फर्काउने लक्ष्यमा छौं । २०८४ भन्दाअगावै व्यवस्था परिवर्तन हुने कुरामा नेपाली जनतालाई विश्वस्त पार्न चाहन्छौं र आन्दोलनमा साथ दिन अपिल गर्दछौं । राप्रपा नेपाल जन्मनुको कारण २०६१ माघ १९ को शाही कदमको समर्थन गर्ने र नगर्नेको कुरा मतभेद हुँदा भएको हो । राप्रपाले शाही कदमलाई अस्वीकार गरेपछि बाध्यतावश कमल थापाले राप्रपा नेपाल स्थापना गर्नुभएको हो ।
त्यो अहिले पनि कायम छ । यही राप्रपा नेपालको गणतन्त्रभन्दा फरक विचारहरु संवैधानिक राजसंस्था, धर्म सापेक्ष हिन्दुराष्ट्र र प्रदेश खारेजीको प्रमुख एजेन्डा अहिले पनि कायम छ । तिनै एजेन्डाका कारण राप्रपा नेपालले २०७० को संविधानसभा चुनावमा २५ सिट पाएकै हो । जनताले राप्रपा नेपाललाई मन पराएकै हो । राप्रपाले त्यो समयमा ११ सिट ल्याउँदा राप्रपा नेपालले २५ सिट प्राप्त गरी देशको चौथो पार्टी भएपछि ११ सिटको राप्रपा र २५ सिटको राप्रपा नेपाल एकीकरण भयो । यो एकीकरणपछि विभिन्न आरोह–अवरोह आए ।
बीचमा २५ सिट प्राप्त राप्रपा नेपाललाई छायामा पारियो र पुनः २०७८ फागुन ७ गते राप्रपा नेपाललाई ब्युँताएर हामी अगाडि बढिरहेको कुरा सबैलाई थाहा भएकै हो । राप्रपा नेपाल र राप्रपा मिल्ने कुराभन्दा पनि पहिला राप्रपा नेपालको एजेन्डा र विचार मिल्ने अरु अभियन्तालाई मोर्चाबन्दी गरी अगाडि बढ्न चाहन्छौं । यो व्यवस्थालाई विस्थापित गर्न राप्रपा र राप्रपा नेपालले जुनसुकै मूल्य चुकाउन तयार रहनुपर्छ ।
जति सक्दो चाँडो राप्रपा र राप्रपा नेपाल एक हुने कुरामा दुईमत छैन । दुवै पार्टीका नेता–कार्यकर्ताको पनि यही मनसाय रहेको छ । राप्रपा नेपालको बटम लाइन पनि यही हो । यो देशका जनताले वर्तमान व्यवस्थाबाट सृजित समस्याहरुले दुःख भोग्नुपरिरहेको छ । त्यसैले जति सक्दो चाँडो हामी वर्तमान गणतान्त्रिक व्यवस्था परिवर्तन गर्न चाहन्छौं । यसमा हामीलाई साथ र सहयोग गरिदिनुहोला ।
यो देशमा रहने–बस्ने र विदेशमा रहने–बस्ने ‘नेपाली हामी, हाम्रो देश नेपाल’ भन्ने गर्व गर्न सक्ने राष्ट्रवादी नेपाली नागरिक एकठाउँमा आउन ढिला हुन लागेको छ । समयको मूल्य बुझ्न सकेनौं भने हामीले पछि झन् दुःख व्यहोर्नुपर्नेछ र हाम्रा सन्ततिले सराप्नेछन् ।
(लेखक कुरुम्बाङ राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)
प्रतिक्रिया