बालबालिकाले आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् : स्वास्थ्यमन्त्री पौडेल

निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

1.03k
Shares

काठमाडौं ।

सरकारले देशभरका १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत, साधन, जनशक्ति र पूर्वाधार बीच असीमित सेवा दिने सङ्कल्प लिएर देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने कार्य अन्तर्गत १४ वर्ष मुनिका १६ लाख बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा प्रारम्भ भएको बताए । 

विश्व स्वास्थ्य संगठनको सहयोग र अन्य निकायहरुको समन्वयमा नपुग स्रोत नेपाल सरकारले व्यवस्था गर्ने गरी सो सेवा सुरु भएको मन्त्री पौडेलले बताए ।

उनले स्वास्थ्य बिमाको रकम भुक्तानी नपाएको विषयमा अध्ययन हुँदा अस्पतालले बिरामी जाँचेको तथ्याङ्क बढी देखाएको भन्दै त्यस्ता अस्पताललाई कारबाही गर्ने चेतावनी दिए । 

उनले बिमालाई थप प्रभावकारी बनाउन बिमा रकम ५ लाख पुर्‍याउने सरकारी योजना श्रोतको सुनिश्चित हुने गरी कार्यान्वयनमा ल्याउने बताए।  मुलुकभरका १४ वर्ष मुनिका १६ लाख बालबालिकाहरुकालागि लक्षित गरी निःशुल्क क्यान्सर उपचार सेवा शुभारम्भ गरिएको हो । 

मन्त्री पौडेलले सरकारले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताए ।

उनले क्यान्सर भएका बालबालिकालाई आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले समयमै उपचार गरेर उनीहरुको ज्यान बचाउन बाल क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० चैत्र १४ मा विश्व स्वास्थ्य संगठनसँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको बताउँदै उनले सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधि निःशुल्क पाउने बताए ।

बालबालिका देशका भविष्य हुन् र उनीहरुलाई स्वस्थ बनाउन सके मात्र देशको भविष्य उज्ज्वल हुने बताउँदै उनले भावी पुस्तालाई स्वस्थ राख्ने उद्देश्यले पनि यो कार्यक्रम सरकारले अगाडि सारेको हो भने ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उनले नेपालमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताए ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सांसद सुरेश श्रेष्ठ , बाल रोग विशेषज्ञ डा. रितु लामिछाने र अस्पतालका व्यवस्थापक राजाराम तजलेले क्यान्सर रोगको जटिलतालाई बुझेर यस अभियान सफल पार्न सहयोग गर्न आग्रह गरे।