बलात्कार मुद्दा बालविवाहमा परिणत, आरोपितलाई १८ महिना कैद, १५ हजार जरिवाना

6.96k
Shares

धादिङ। 

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई जिल्ला अदालतले ०८१ मंसिर ५  गते जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरेको छ ।

जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिण गरी कसुर ठहर  गर्दै कसुरदारलाई मुलुकी अपराध संहिता २०७४ दफा १७३ को १ बमोजिम एक वर्ष ६ महिना कैद गरी १५ हजार जरिवाना गर्ने फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताए ।

बालिकालाई ० ८१ वैशाख १३ र १४  गते बलात्कार गरेको आरोप लगाइ पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा सोही दिन प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरी अनुसन्धानपछि जेठ २० गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा मुलुकी अपराध संहिता २०७४ दफा २१९ को ३ ख अनुसार  जबरजस्ती करणी मुद्दा  दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालतका न्यायधिस गोपाल प्रसाद बास्तोलाको जेठ २१ गतेको इजलासले आरोपित तामाङलाई  पुर्पक्षका लागि थुनामा पठाएका थिए । पीडितको वैशाख २९ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

जिल्ला अदालतले गरेको फैसलामा ०८१ वैशाख १९ गते साथीको घरमा गएकी पीडित बालिकाले कसुरदारसंग विवाह गरेकोले र फोटो समेत विवाहको भएको तथा बालिका वयस्कतर्फ उन्मुख भएकोले बलात्कार नभई बालविवाह भएको ठहर गरेको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।