लमजुङ।
उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावरमा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेका छन् । सोमबार आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । उपचारका क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
आयोजना स्थलमा कामदारको सुरक्षाका लागि आवश्यक न्यूनतम सुरक्षा उपाय अवलम्बन नगरिएको भन्दै आयोजनाको सुरक्षामाथि प्रश्न उठेको छ । पछिल्लो तीन दिनको अवधिमा सोही आयोजनामा कार्यरत दुई जना कामदार भीरबाट खसेका छन् ।
असोज १७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–८ घर भएका ३२ वर्षीय रविन बस्नेत पनि आयोजनामा काम गर्ने क्रममा भीरबाट खसेर घाइते भएका थिए । आयोजना स्थलभन्दा करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा बाटोमा सन्तुलन गुमाउँदा उनी करिब ६० मिटर तल भीरको खोंचमा खसेका थिए ।
बस्नेतलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । उनको छाती र बायाँ हातमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्। उनको अस्पतालमै उपचार भइरहेको छ ।
लगातार दुई कामदार भीरबाट खसेको घटनाले आयोजनास्थलमा कामदारको सुरक्षा व्यवस्थापन कमजोर रहेको देखिएको भन्दै सम्बन्धित निकायले आवश्यक सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवाज उठेको छ ।











प्रतिक्रिया