स्याङ्जा क्षेत्र नं. २ मा पुनः निर्वाचनको माग

0
Shares

स्याङ्जा।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को क्षेत्रीय तथा प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण र अमर्यादित भएको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरिएको छ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रीय सभापतिका उम्मेदवार नेत्रप्रसाद पाण्डे र क्षेत्रीय सचिवका उम्मेदवार कमलचन्द्र गैह्रेले संयुक्त रुपमा हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिँदै पुनः निर्वाचनको माग गर्नुभएको हो ।

उम्मेदवारद्वयले दिएको निवेदनमा नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ को क्षेत्रीय तथा प्रदेश अधिवेशन असोज १३ गते वालिङ नगरपालिकाको खेलमैदानमा दिउँसो २ बजेदेखि सञ्चालन भएको उल्लेख छ । निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा निर्वाचनका आधारभूत सिद्धान्त तथा प्रक्रिया पालना नगरिएको र निर्वाचन अमर्यादित तथा धाँधलीपूर्ण देखिएपछि सर्वसहमतिबाट निर्वाचन स्थगित गरिएको निवेदनमा दाबी गरिएको छ । निवेदनमा निर्वाचन सञ्चालनका क्रममा देखिएका गतिविधिका कारण निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको उल्लेख गर्दै त्यस्तो अवस्थामा खसेको मतलाई मान्यता दिन नसकिने जिकिर गरिएको छ ।

“निर्वाचनको सिद्धान्त पनि पालना नगरी निर्वाचन सञ्चालन भएको र निर्वाचन अमर्यादित, धाँधलीपूर्ण देखिएकोले सर्वसहमतिबाट नै निर्वाचन स्थगित गरिएको हो,” निवेदनमा भनिएको छ । उम्मेदवारद्वयले निर्वाचन प्रक्रिया नै विवादित बनेकाले उक्त निर्वाचनबाट प्राप्त मतलाई आधार बनाएर परिणाम घोषणा गर्न नहुने बताएका छन् । उनीहरुले सम्पूर्ण निर्वाचन कार्यक्रम रद्द गरी सबै उम्मेदवार तथा प्रतिनिधिलाई स्वीकार्य हुने गरी पुनः स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउन माग गरेका छन् । निवेदनमा भनिएको छ, “यथाशीघ्र सम्पूर्ण निर्वाचन कार्यक्रम रद्द गरी पुनः स्वच्छ, मर्यादित र सबैलाई मान्य हुने खालको पुनः निर्वाचन गराई पाउँ ।” निर्वाचनका क्रममा भएका गतिविधि पुष्टि हुने फोटो तथा भिडियोसमेत निवेदनसँगै केन्द्रीय निर्वाचन समितिमा पेश गरिएको जनाइएको छ ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जामा स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि क्षेत्रीय तथा प्रदेश तहका निर्वाचन प्रक्रिया अघि बढाइएको हो । क्षेत्र नं. २ मा पनि निर्वाचनका लागि उम्मेदवारी दर्ता तथा मतदान प्रक्रिया अघि बढेको अवस्थामा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको हो । क्षेत्रीय सभापति तथा सचिवका उम्मेदवारले नै निर्वाचन प्रक्रियाप्रति प्रश्न उठाउँदै पुनः निर्वाचनको माग गरेपछि अब केन्द्रीय निर्वाचन समितिको निर्णयलाई चासोका साथ हेरिएको छ । समितिले निवेदनमा उल्लेख गरिएका विषय, पेश गरिएका प्रमाण तथा निर्वाचन प्रक्रियासम्बन्धी अवस्थाको अध्ययन गरी आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, पुनः निर्वाचनको माग गर्ने पक्षले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र सबै पक्षलाई स्वीकार्य हुने वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिएको छ । उनीहरुले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रक्रियाप्रति सबै पक्षको विश्वास कायम हुनु आवश्यक रहेको बताएका छन् ।