लमजुङ।
लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाका बाढीपीडित परिवारका लागि करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी वितरणका लागि टोली बुधबार रसुवातर्फ पुगेको छ ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रका परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले जिल्ला तथा विभिन्न इकाइमार्फत खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री संकलन गरेको हो ।
संघका अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले बेसीशहरबाट करिब १५ लाख रुपैयाँ, सुन्दरबजार इकाइबाट ५ लाख रुपैयाँ र उदिपुर इकाइबाट २ लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर रसुवातर्फ गएको हो ।
संकलित राहत सामग्री भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई वितरण गरिने संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताए । उनका अनुसार राहत सामग्री वितरणका लागि नुवाकोट उद्योग वाणिज्य संघसँग समन्वय भएको छ ।
राहत सामग्री वितरणका लागि संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, सदस्य पुष्पकला मिश्र, महिला उद्यमी विकास संघका उपाध्यक्ष भवानी थापा, सचिव तीर्थ गुरुङलगायतको टोली रसुवा पुगेको छ ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले संघको पहलमा राहत सामग्री संकलन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संघले यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७० हजार रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।











प्रतिक्रिया