पोखरा।
निरन्तरको वर्षापछि आएको बाढी र पहिरोको कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।
बागलुङमा मात्र १० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । निसीखोला–३ धाराखर्कमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ओमलाल विक उनको श्रीमती श्यामकुमारी विक छोराहरू मिसन विक, मुकेश विक र मनोज विकको मृत्यु भएको हो । सोही पालिकाको वडा नम्बर ६ को रंगिलमा गोठ पुरिदाँ भल्कोटका सुर्ज घर्तीको मृत्यु भएको छ ।
तमानखोला गाउँपालिकामा पहिरोले चार जनाको मृत्यु भएको छ । तमानखोला ३ धनारपुर टोलमा २ जना तथा वडा नं. ४ लाम्मेलाको सन्तर टोलमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्तवीर विक र उदिशरा विकको शव भेटिएको छ भने एक जना महिला अझै बेपत्ता छन ।
म्याग्दीमा १ जनाको मृत्यु भएको छ भने, ३ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका–३ फगाममा गंगाबहादुर पाइजाको घर पहिराले पुरिदा ७५ वर्षीया शिलकुमारी गर्बुजाको मृत्यु भएको हो । ५४ वर्षीया योमाया पुर्जा बेपत्ता भएकी छन् । घरमा रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
हालसम्म गण्डकीमा १ सय ७९ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । सबैभन्दा बढी पर्वतमा १ सय ६ घर पूर्ण रुपमा क्षति भएको छ । बागलुङमा २३, नवलपुरमा १५, स्याङ्जामा १३, तनहुँमा १०, मनाङमा ४, म्याग्दीमा ६ कास्की र लमजुङमा १-१ घरमा पूर्ण क्षति पुगेको छ । २६ घरमा आंशिक तथा २ सय ७० घर पूर्ण रुपमा जोखिममा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार गण्डकीमा चार सय १९ घरपरिवारका एक हजार चार सय ५१ जना विस्थापित भएका छन् । ६ वटा पुलमा पूर्ण क्षति पुगेको छ ।











प्रतिक्रिया