एथेन्स — विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुमात्रन बाघका तीन डमरु ग्रीसमा जन्मिएपछि बाघ संरक्षणमा नयाँ आशा पलाएको छ।
ग्रीसको एटिका जुलोजिकल पार्कमा गत जुलाईमा जन्मिएका तीन डमरुमध्ये दुई भाले र एक पोथी छन्। हालै उनीहरूलाई पहिलोपटक स्वास्थ्य परीक्षण, खोप तथा पहिचानका लागि माइक्रोचिप लगाइएको छ।
सुमात्रन बाघ इन्डोनेसियाको सुमात्रा टापुमा मात्र पाइन्छ। वन विनाश र चोरी–सिकारका कारण यसको संख्या निरन्तर घटिरहेको छ। जंगलमा करिब ४०० वटा मात्रै सुमात्रन बाघ बाँकी रहेको अनुमान छ।
बाघको संरक्षणका लागि विश्वका विभिन्न चिडियाखानामा प्रजनन कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमले संकटमा रहेका प्रजातिको सुरक्षित संख्या बढाउन र भविष्यमा जंगलमा पुनःस्थापना गर्न सहयोग पुग्ने संरक्षणकर्मीहरूको विश्वास छ।
एटिका जुलोजिकल पार्कमा जन्मिएका तीन डमरुकी आमा ‘टोबा’ हुन्। उनीहरूका बाबु ‘आर्गोस’को भने क्यान्सरका कारण मृत्यु भइसकेको छ।
तीन डमरुको जन्मले संकटमा परेको सुमात्रन बाघको संरक्षण अभियानमा आशाको नयाँ किरण थपिएको छ।











प्रतिक्रिया