सीप सिक्दै आत्मनिर्भर बन्दै लमजुङका महिला

0
Shares

लमजुङ। 

लमजुङको सुन्दरबजारमा महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १० दिने सरसफाइ सामग्री बनाउने तालिम सम्पन्न भएको छ । तालिममा सरफ, साबुन, हार्पिक, फिनेललगायतका सरसफाइ सामग्री उत्पादन गर्ने सीप प्रदान गरिएको थियो ।

वर्ल्ड  भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्य तथा सुन्दरबजार नगरपालिका–७ को समन्वयमा तालिम भएकोे हो । तालिममा १० जना स्थानीय  महिलाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा सुन्दरबजार नगरपालिकाकी उपप्रमुख भवानी केसीले महिलालाई सीपसँग जोडेर आयआर्जनको अवसर सिर्जना गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादनलाई व्यावसायिक बनाउन सके महिलाको आर्थिक आत्मनिर्भरता बढाउन सहयोग पुग्ने उनको भनाई छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले स्थानीय स्तरमै महिलालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । तालिमबाट प्राप्त सीपलाई निरन्तरता दिई उत्पादन तथा बजारीकरणमा ध्यान दिन सके सहभागीहरुले आम्दानीको स्रोत बनाउन सक्ने गुरुङले बताए ।

आरसिडिसीका कार्यक्रम संयोजक हेमराज विमलीले महिलाको क्षमता विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सीप सिकेर मात्र नभई त्यसलाई व्यवहारमा प्रयोग गरी व्यावसायिक उत्पादनतर्फ अघि बढ्न सहभागीहरुलाई उनले आग्रह गरे । साथै, आगामी दिनमा पनि स्थानीय महिला तथा समुदायको आवश्यकता र मागका आधारमा यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्न आरसिडिसीले थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । 

तालिमका प्रशिक्षक टोपनारायण मरासिनीले सहभागीहरुलाई सरफ, साबुन, हार्पिक, फिनेललगायतका सरसफाइ सामग्री तयार गर्ने विधि, आवश्यक कच्चा पदार्थ, मिश्रणको मात्रा, उत्पादन प्रक्रिया तथा सुरक्षित रूपमा सामग्री उत्पादन गर्ने तरिकाबारे व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको बताए । स्थानीय स्रोत र साधनको उपयोग गरी गुणस्तरीय सामग्री उत्पादन गर्न सकिने उनको भनाई छ ।

वडा अध्यक्ष जयराम रेग्मीले महिलाहरुमा रहेको सीप र क्षमतालाई आयआर्जनसँग जोड्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । रेग्मीले स्थानीयस्तरमै सरसफाइ सामग्री उत्पादन गर्न सके बाहिरबाट खरिद गर्नुपर्ने अवस्थालाई समेत कम गर्न सकिने उल्लेख गर्दै सहभागीहरुलाई सिकेको सीपको निरन्तर अभ्यास गर्न आग्रह गरे । 

प्रशिक्षार्थी चन्द्रमाया कुमालले तालिमबाट सरसफाइ सामग्री बनाउने नयाँ सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै सिकेको सीपलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरिन् र । यस्ता व्यवहारिक तथा आयआर्जनमुखी तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनको  भनाइ छ ।

१० दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरुलाई सरफ, साबुन, हार्पिक, फिनेललगायतका सामग्री आफैं उत्पादन गर्न सक्ने गरी प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । तालिमले महिलाहरुलाई सीप विकाससँगै स्वरोजगार र आयआर्जनतर्फ अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।