लमजुङ।
लमजुङको सदरमुकमा बेसीशहरमा किशोरकिशोरीका लागि आयोजित तीन दिने करियर काउन्सेलिङ तथा गोल सेटिङसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । किशोरकिशोरीलाई आफ्नो क्षमता, रुचि र सम्भावनाको पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग पु¥याउने उद्धेश्यले आयोजित तालिम बिहीबार सम्पन्न भएको छ ।
मंगलबारदेखि सुरु भएको तालिम वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको आयोजनामा सञ्चालन भएको हो ।
तालिमको समापन कार्यक्रम आरसिडिसी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र बोहोराको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका कार्यक्रम संयोजक एवं बाल कल्याण अधिकारी मेगेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा भएको हो ।
समापन कार्यक्रममा बोल्दै बाल कल्याण अधिकारी पोख्रेलले किशोरकिशोरीले समयमै आफ्नो रुचि, क्षमता र लक्ष्य पहिचान गर्न सके भविष्यमा सही बाटो रोज्न सहज हुने बताए । उनले लक्ष्य निर्धारणसँगै त्यसलाई हासिल गर्न निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गरे ।
प्रशिक्षणका क्रममा सहजकर्ता हरिबोल बजगाईंले आत्मपहिचान, जीवनोपयोगी सीप, क्षमता तथा रुचिको पहिचान, लक्ष्य निर्धारण र लक्ष्य प्राप्तिका लागि कार्ययोजना निर्माणलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले ‘म के गर्न सक्छु ?’ भन्ने विषयमा किशोरकिशोरीलाई आफैं सोच्न र आफ्नो भविष्यको योजना बनाउन प्रेरित गरे ।
आरसिडिसी नेपालका संस्थापक अध्यक्ष बोहोराले किशोरकिशोरीको क्षमता विकास तथा भविष्य निर्माणमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढ्न उहाँले सहभागीलाई आग्रह गरे ।
तालिममा सहभागी किशोरकिशोरीले प्रशिक्षणबाट आफ्नो क्षमता तथा रुचि पहिचान गर्न र भविष्यका लागि लक्ष्य निर्धारण गर्न सहयोग पुगेको बताएका छन् । उनीहरुले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई अध्ययन र दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तालिममा आरसिडिसी नेपालको कार्यक्षेत्रअन्तर्गत बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाका ३२ जना किशोरकिशोरीको सहभागिता रहेको थियो । आरसिडिसी नेपालका अनुसार यसअघि सम्पन्न सोही प्रकृतिको कार्यक्रममा सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाका ३५ जना किशोरकिशोरी सहभागी भएका थिए ।












प्रतिक्रिया