डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेरी मोलाले ‘मिस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङमा शनिबार आयोजित ७५औँ मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनले १११ देशका प्रतियोगीलाई पछि पार्दै विश्व सुन्दरीको ताज जितेकी हुन्।
स्पेनकी एलिजाबेथ रेयनेस पहिलो रनरअप बनिन् भने मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप भइन्।
जोहेरीको जितसँगै डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि दोस्रोपटक मिस वर्ल्डको उपाधि जितेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलोपटक यो उपाधि जितेकी थिइन्।
जोहेरी मोल डोमिन्गेज शिक्षिका, पत्रकार तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छिन्। उनले व्यवसाय व्यवस्थापन तथा प्रशासनमा अध्ययन गरेकी छन्। उनी ‘भोइसेस अफ टुमोरो’ नामक संस्थाकी संस्थापक तथा अध्यक्षसमेत हुन्। संस्थामार्फत उनले सुविधाविहीन समुदायका बालबालिका तथा युवालाई अंग्रेजी शिक्षा उपलब्ध गराउँदै आएकी छन्।
यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा सौन्दर्यसँगै सामाजिक योगदानलाई पनि प्राथमिकता दिइएको थियो। प्रतियोगितामा सहभागी १११ सुन्दरीमध्ये विभिन्न चरण पार गर्दै अन्तिम चरणमा उत्कृष्ट प्रतियोगीहरू छनोट गरिएको थियो।
नेपालबाट भने लुना लुइँटेलले मिस वर्ल्ड २०२६ मा प्रतिनिधित्व गरेकी थिइन्। उनी सन् २०२५ की मिस नेपाल वर्ल्ड हुन्। लुना क्लिनिकल नर्स विशेषज्ञका रूपमा कार्यरत रहेको र सार्वजनिक स्वास्थ्यमा स्नातकोत्तर अध्ययन गरिरहेको मिस वर्ल्डको आधिकारिक विवरणमा उल्लेख छ।
फिनालेमा सन् २०२५ की मिस वर्ल्ड तथा थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले जोहेरीलाई ताज पहिराएकी थिइन्।
मिस वर्ल्ड २०२७ तान्जानियामा आयोजना हुने भएको छ। आगामी प्रतियोगितामा नेपालबाट मिस नेपाल २०२६ की विजेता दीपमाला ढकालले प्रतिनिधित्व गर्नेछिन्।












प्रतिक्रिया